भूकम्पपछि म्यानमारमा उद्धार र राहत जारी, मृत्यु हुनेको संख्या ६९४ पुग्यो

14

एजेन्सी । शुक्रबार देशलाई हल्लाएको ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारको दोस्रो ठुलो सहर मन्डलेमा उद्धार कार्य जारी छ । भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि उद्धार जारी छ ।

भूकम्पपछि उद्धार र राहत प्रयासलाई सहयोग गर्न दक्षिणपश्चिम चीनको युनान प्रान्तबाट ३७ सदस्यीय उद्धार तथा चिकित्सा टोली शनिबार बिहान म्यानमार गएको छ ।

यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूकम्पपछि दक्षिणपूर्वी एसियाली देशहरूमा खाँचोमा परेका मानिसहरूलाई सहयोग गर्न आह्वान गरेका छन् ।

म्यानमारको मन्डले क्षेत्रमा शनिबार बिहानसम्म भूकम्पमा परी ६९४ जनाको मृत्यु भएको छ भने १,६७० जना घाइते भएका छन्  । ६८ जना बेपत्ता भएको म्यानमारको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।

भूकम्पको धक्का चीन, थाइल्याण्ड र लाओसमा पनि महसुस गरिएको थियो । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले भूकम्पबाट प्रभावित मानिसहरूप्रति समवेदना व्यक्त गरे ।

गुटेरेसले शक्तिशाली भूकम्पपछि म्यानमार सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आग्रह गरेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...