विश्वभर नेपाली फिल्मको बजार राम्रो छ : गोविन्द सिंह भण्डारी [भिडिओ]

14
  • प्रमिला कार्की

काठमाडौँ, १२ चैत । यतिबेला मेरो व्यस्तता फिल्म ‘प्रेमा’ को प्रवर्द्धनमा केन्द्रित छ । इन्डियन ओटीटी प्लेटफर्ममा लागिसकेकाले थप प्रचार गरिरहेको छु । यो फिल्म नेपालमा प्रदर्शन भइसकेको छ । यो रोमान्टिक ड्रामा हो । कलाकार अरुण क्षेत्री, सुभेच्छा खड्का र सृष्टि श्रेष्ठले राम्रो भूमिका निर्वाह गरेका छन् । नेपालमा लागिसकेको फिल्म भएकाले कुनै नयाँ मार्केटका लागि प्रयास गरेको हुँ । आफ्नो लगानी बचत गर्न सक्छौँ र अझै विश्व बजारतिर फैलिन सक्छौँ भनेर भारतीय बजारमा प्रयास गरिरहेको हुँ । इन्डियामा धेरै चिनेजानेका साथीहरु भएकाले करिब एक डेढ वर्षदेखि विभिन्न प्लेटफर्ममा ‘प्रेमा’ शो गर्ने अवसर मिलेको छ । ‘हङ्गामा डट कम’, ‘एरटेल एक्ट्रिम’, ‘यमाजोन प्राइम’ र ‘स्टार प्राइम’ गरी चारवटा ओटीटीमा फिल्म लागेको छ । राम्रो प्रतिक्रिया आइरहेको छ ।

‘अमाजोन प्राइम’मा युके र अमेरिकामा बस्ने नेपालीहरुले हेर्न पाउँछन् भने ‘हङ्गामा डटकम’ र ‘स्टार प्राइम’ मा संसारभर जहाँबाट पनि एप डाउन्लोड गरेर हेर्न मिल्छ । ‘एरटेल एक्ट्रिम’मा भने भारतमा बस्ने एरटेलका प्रयोगकर्ताहरुले मात्र हेर्न मिल्छ ।

नेपालमा हलमा सोचेजस्तो भएन । किनभने निर्माताको रुपमा मेरो पहिलो फिल्म थियो । निर्देशक पनि आफैँ थिए । बनाउने र बेच्ने दुवै आफू हुँदा अलिकति नमिलेको हो की जस्तो लाग्यो । पहिलो पटक निर्माता भएर बजारीकरण कसरी गर्ने भन्ने कुरामा म चुकेँ । त्यही भएर थ्रेटरमा खासै राम्रो भएन । तर, यसमा चिन्ता छैन । जुन किसिमको बजेटमा फिल्म बनाएका थियौँ, इन्डियन ओटिटीमा लाग्दा घाटामा भने गएन ।

निर्देशक र लेखक एउटै हुनु धेरै राम्रो कुरा हो । आफैँले लेखेको कथा फिल्ममा उतार्न सजिलो हुन्छ । आरामले दर्शकलाई देखाउने सक्नेगरी पर्दामा उतार्न सकिन्छ । निर्माता बन्नु भनेको जटिल काम नै रहेछ । हामी त कलाकार हो, निर्देशक पनि एक प्रकारको कलाकार नै हो । निर्माता भनेको पूरै व्यवसायी हुन्छ, उनीहरुलाई व्यापारिक ज्ञान हुन्छ । सुरुवातमा निर्देशक चुक्नसक्छ तर पछि काम गर्दै जाँदा धेरै जना सफल भएका पनि छन् । कुन फिल्म चल्छ र कुन चल्दैन भन्ने कुरा एकदमै जटिल कुरा हो । कसैले भन्न सक्दैन । विश्वको चलचित्रको इतिहास हेर्ने हो भने अर्बौँको लगानी भएको हलिउड फिल्महरु पनि फल्प भएका छन् । यसको कारण सायद फिल्म सही समयमा रिलिज नहुनु होला वा कतिवटा फिल्म राम्रो नभएर होला, कतिले प्रचार प्रसार राम्रो तरिकाले गर्न नसकेर होला । मेरो फिल्म थ्रेटरमा राम्रो तरिकाले चलेन तर नयाँ बजार त पाएको छ । कसैको सुरुमा चल्न सक्छ, कसैको पछि चल्न सक्छ वा कुनैले नयाँ मञ्चमा बजार पनि बनाउन सक्छ ।

फिल्म लागेको धेरै भएको छैन तर अहिलेसम्ममा प्रतिक्रियाहरु राम्रो नै छ । नेपाली फिल्म, नेपाली भाषा, अंग्रेजी सबटाइटलमा लागेको हो । हिन्दीमा होइन । त्यसकारण चलचित्रप्रेमी र नेपाली भाषा बुझ्नेहरुले पहिला फिल्म हेरेपछि, यसको चर्चा हुन थालेपछि मात्र अरु भारतीय दर्शकहरुले हेर्ने हो ।

अहिले हामी हंगामा, स्टार क्राइममा पुग्न सकेका छौँ । भोली अब हामी नेटफ्लिक्ससम्म जाने भन्ने छ । सबैको फिल्म विश्व बजारमा आउनैपर्छ । चर्चा हुनैपर्छ । सबैले स्थान पाउनुपर्छ । पहिला युट्युब हिन्दी डब भएका फिल्महरु हेथ्र्यौं तर अहिले भाषा नबुझे पनि तेलुगा फिल्म सबटाइटलसहित हेर्ने भएका छौँ । अडियन्सलाई बानी बसाल्ने कुरा प्रमुख हो । त्यसैले नेपाली फिल्म मेकरहरुले विस्तारै प्रयासहरु गरिरहेका छन् । हिन्दीमा डब गरेर केही फिल्महरु लागेका छन्, नेपाली भाषाका फिल्म अंग्रेजी सबटाइटलसहित लागेका छन् । यो राम्रो उपलब्धि हो । मीन भाम सरले फिल्म फेस्टिबलतिर कति धेरै फिल्म लगाइसक्नुभयो । रेगुलर अडियन्सले हेर्ने फिल्महरुले धेरै स्थान पाउन सकेको छैन ।

सोसल मिडिया, पत्रपत्रिकामा आइसकेको कुराहरुलाई फिल्म बनाउँदा कुनै कानुनले रोक्न सक्दैन । फिल्मले नदेखाउने हो भने पत्रिकाले लेख्दैन नि । पत्रिकाले लेखेका कुरा पनि मान्छेले पढिरहेका हुन्छन् । पढ्न पाउने, युट्युब हेर्ने तर फिल्ममा चाहिँ किन देखाउन नपाउने ? त्यसैले फिल्म देखाउन पाउनुपर्छ । हाम्रा अग्रज चलचित्रकर्मीहरुले यस विषयमा आवाजहरु समेत उठाइरहेका छन् । अन्तर्राष्ट्रिय मार्केटमा सरकारले केही पनि गर्न सक्दैन । त्यसैले सरकारले फिल्म मार्केट चाहिन्छ जस्तो पनि लाग्दैन ।

विश्वमा विभिन्न किसिमको कल्चरहरु छन्, ती फिल्महरुलाई सरकारले सहयोग गर्नुपर्छ । पछि गएर बनाउनका लागि र जोगाउको लागि केही न केही त सहयोग सरकाले गर्नैपर्छ । वातावरण सजिलो बनाइदिनपर्छ । र समग्रमा आफ्नै तरिकाले फिल्म बनाउन दिनु नै धेरै ठुलो कुरा हो । तर, नेपालमा सहज छैन । कसैको नाम प्रयोग गर्न पाउँदैन, स्थानको नाम प्रयोग गर्न पाउँदैन । त्यसलाई सहजीकरण गरिदिएपछि बाँकी काम हामी आफैँले पनि गरिहाल्छौँ । जुन कुरा पहिले नै मार्केटमा आइसकेको छ । पत्रपत्रिकामा आइसकेको छ । युट्युब जतिबेला पनि हेर्न पाएका छौँ । फिल्मको कथा भनेकै समाजबाट आउने हो । काल्पनिक कथाको पनि बेस भनेको वास्तबिकता नै हो । झै–झगडा, आन्दोलन त समाजमा भइरहेको छ । त्यसलाई रोक्न सक्या छैन । तर, फिल्ममा मास दृश्य रोकिएको छ । सेन्सर गर्ने कुराहरु पनि छन् । देशको बारेमा आतंकवादी गतिविधिदेखि लिएर मापदण्ड विपरीत देखाउँदा सेन्सर हुन्छ । त्यसबारे फिल्म बनाउनेले पनि बुझेका हुन्छौँ । यसलाई सरकारले सहज गरिदिए राम्रो हुन्छ । फिल्म मेकरलाई सहज तरिकाले फिल्म बनाउन दिनुपर्छ ।

नेपालमा फिल्मको शोका लागि हल व्यवसायीहरुसँग सम्झौता गर्न कठिन भएको सुनिन्छ । धेरैजस्तो फिल्महरु त हलबाट निकालिदियो, स्थान दिएन भन्ने गरेको पनि सुनिन्छ । यसमा चाहिँ सरोकारवाला सबैजना बसेर छलफल गरेर सहजीकरण गर्नुपर्छ । नेपालमा नै नेपाली फिल्मले स्थान पाएन भने अरु के आशा गर्नु र ?

नेपाली फिल्ममा भविष्य चाहिँ राम्रो छ । व्यापार छैन भन्नु गलत हो । पाँचदश वर्ष अगाडिको फिल्म मेकिङ प्रोसेस क्वालिटी हेर्ने हो भने अहिले त धेरै फड्को मारिसकेको छ । पहिला एक करोडको फिल्म बनाउँदा धेरै ठुलो लाग्थ्यो । अहिले १० करोडको फिल्म बनिसक्यो । सम्भावना नै नदेखेर त लगानी भएको होइन होला ।

(फिल्म ‘प्रेमा’का निर्माता एवम् निर्देशक गोविन्द सिंह भण्डारीसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

Share This:
सम्बन्धित खबर
Loading...