एम्बुलेन्स चालकहरूको गुनासो : ट्राफिक प्रहरी र निजी सवारी धनीबाटै हैरान छौँ

36
  • आकांक्षा धामी

काठमाडौँ, १२ फागुन । पाटन अस्पतालको एम्बुलेन्स चालकका रूपमा अनिल तामाङले काम गर्न थालेको चार वर्ष भइसक्यो । विभिन्न किसिमका बिरामीहरुलाई अस्पताल पुर्‍याउनु र थप उपचारका लागि राजधानीका अन्य अस्पताल लैजानुपर्ने उहाँको मुख्य जिम्मेवारी छ । जिम्मेवारी पूरा गर्ने क्रममा ट्राफिक जामले अवरोध गर्ने गरेको अनुभव उहाँको छ ।

चालक तामाङ भन्नुहुन्छ, ‘एम्बुलेन्स एउटा संवेदनशील सवारी साधन हो । जुनबेला पनि फोन आउन सक्छ भनेर तयारीमै बसिरहनुपर्छ । ड्युटी नै नभए पनि हाम्रो मानसिकमा के हुन्छ भने एम्बुलेन्स सम्हालेर बसिरहेको छु, जुनैबेला पनि कसैले फोन गरेको खण्डमा जानुपर्छ भन्नेमा हुन्छौँ ।’

साथै उहाँले बिरामी लिएर हुइँकिरहेको बेला काठमाडौँ उपत्यकाको ट्राफिक जामको दुःख सबैभन्दा धेरै रहेको बताउनुभयो । उहाँले जामले गर्दा बाँच्ने बिरामी पनि समयमै अस्पताल नपुग्दा मृत्यु भएको धेरै घटनाहरुले आफूलाई दुखित गराउने गरेको बताउनुभयो ।

उहाँले साना सवारीहरु मोटरसाइकल, कार र ठुला सवारीहरुले बाटो नै नछाड्ने अवस्थाको सामना गर्नुपर्ने बताउनुभयो । निजी सवारी साधन चलाउनेहरु झ्याल–ढोकाको सिसा डम्म लगाएर एम्बुलेन्सको आवाज सुन्नुहुन्न । जति नै साइरन बजाए पनि बाटो छोड्नुहुन्न । यस्तोबेला धेरै नै तनाव गराउँछ । त्यसैले यस्ता समस्या समाधानका लागि छुट्टै सडक लाइनको व्यवस्था भए एम्बुलेन्स चालकहरुलाई सहज हुने उहाँको भनाइ छ ।

‘कहिलेकाहीँ एम्बुलेन्सभित्र नै बिरामीको मृत्यु हुन्छ । त्यो बेला अत्यन्तै दुःख लाग्छ । किनकी हामी बिरामी बाँचोस् भनेर नै सेवा दिइरहेका हुन्छौँ । यसमा पनि ट्राफिक जामको ठुलो भूमिका हुन्छ । जामले गर्दा बाच्ने बिरामी पनि समयमै अस्पताल नपुग्दा मृत्यु भएको धेरै घटनाहरु देखेका छौँ । साना सवारीहरु मोटरसाइकल, कार, र ठुला सवारीहरुले बाटो नै नछोड्ने अवस्थाको सामना गर्नुपर्छ । प्राइभेट गाडी चलाउनेहरु सिसा डम्म लगाएर एम्बुलेन्सको आवाज सुन्नुहुन्न जति साइरन बजाए पनि बाटो छोड्नुहुन्न । यो समस्या समाधानका लागि छुट्टै सडक लेनको व्यवस्था भए एम्बुलेन्स चालकहरुलाई सहज हुन्थ्यो ।’

यसैगरी उहाँले एम्बुलेन्सलाई राज्यले अलग्गै अंग नै बनाउनुपर्ने बताउनुभयो । एम्बुलेन्स, दमकलहरुका लागि एउटा छुट्टै बाटो बनाउन आग्रह समेत गर्नुभयो ।

‘ड्युटी गर्न आइसकेपछि परिवारसँग धेरै समय बिताउन पाइँदैन २४ घण्टा नै उपस्थित हुनुपर्छ । एक्कासी बिरामी र बिरामीको मृत्यु हुँदा पहिले डर लाग्थ्यो । अहिले एम्बुलेन्स चलाउँदा जहिले यस्तै मान्छे बोक्नुपर्ने भएकाले बानी परिसक्यौँ । सिकिस्त बिरामीलाई सकेसम्म सम्बन्धित ठाउँसम्म या अस्पतालसम्म समयमा पुर्‍याउन पाएको भए हुन्थ्यो भन्ने दिमागमा आइ नै रहन्छ,’ उहाँले भन्नुभयो, ‘तर हाम्रो ट्राफिक प्रहरी चोकचोकमा हुनुहुन्छ सामान्य सहयोग गर्नुहुन्छ । पहिला काठमाडौँ महानगरपालिकका मेयर बालेन साहले एक्बुलेन्सहरुको लागि छुट्टै रातो पेटी बनाउनुभएको थियो, त्यो राम्रो थियो तर अहिले किन त्यो हट्यो । यसमा सरोकारवालाहरुको ध्यान जानुपर्छ । एम्बुलेन्सलाई राज्यले अंग नै बनाउनुपर्छ जस्तो लाग्छ । एम्बुलेन्स, दमकलहरुका लागि एउटा छुट्टै बाटो बनाउन आग्रह गर्न चाहन्छु ।’

यसैगरी रवि धिमाल एम्बुलेन्स सव बाहनका चालकको रुपमा काम गर्न थालेको ६ वर्ष वित्यो । उहाँको र तामाङको पीडा पनि मिल्दोजुल्दो छ ।

उहाँ भन्नुहुन्छ, ‘कसैलाई आपत परेको बेला फोन आउँछ । आपत पर्‍यो भनेर हामी पनि आफ्नै दुःख जस्तो गरेर हुइकिन्छौं । तर, कहिलेकाहीँ निजी सवारी चलाउनेले बाटोको सही सदुपयोग नगरेको हो कि जस्तो लाग्छ । एम्बुलेसन्लाई प्राथमिकता दिन नखोजेको हो कि जस्तो देखिन्छ ।’

साथै उहाँले ट्राफिकहरुले पनि कहिले सघाउने त कहिले बेवास्ता गर्ने गरेको गुनासो गर्नुभयो । उहाँले जतिबेला पनि दौडनुपर्ने भएकाले सुत्ने उठ्ने र परिवारलाई धेरै समय दिन नसक्दा दुःख लाग्ने गरेको बताउनुभयो ।

‘ट्राफिकले जनचेतनामूलक तालिमहरु दिए हुन्थ्यो । एम्बुलेन्स आएपछि प्राथमिकता दिनुपर्छ भन्ने मानसिकता विकास हुनुपर्छ । ट्राफिकहरुले पनि कहिले सघाउनुहुन्छ, कहिले वास्ता गर्नुहुन्न । कोही कोही रिसाउनु पनि हुन्छ,’ उहाँले अगाडि भन्नुभयो,‘हाम्रो सुत्ने उठ्ने केही ठेगान हुँदैन । परिवारलाई समय नदिइ दुःख परेकालाई सहयोग गर्न पाएका छौँ । त्यो चाहिँ सुखद हो ।’

उहाँले एम्बुलेन्स र दमकललाई राज्यले प्राथमिकता दिने खालको वातावरण बनाउन आग्रह गर्नुभयो । ‘एम्बुलेन्स र दमकललाई सडकमा प्राथमिकता दिने खालको वातावरण भइदिएको भए कसैलाई अप्ठ्यारो पर्दा सेवा गर्न गएको बेला चाँडै पुगिन्थ्यो कि भन्ने छ । राज्यले कुनै माध्यमबाट चेतना दिए हुन्थ्यो भन्ने छ । ट्राफिक जामको समस्या एकातिर छ । साइरन बजाउँदा पनि कतिपय निजी सवारी चालकहरु अटेर गरिरहन्छन् । यसमा सबैले ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

यस्तै, अर्का एम्बुलेन्स चालक मानबहादुर चँधाराले ट्राफिकले नै दुःख दिने गरेको बताउनुभयो । उहाँले साइरन बजाएकै कारण ट्राफिक प्रहरीले चिट काटेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ट्राफिकले धेरै दुःख दिन्छ, अनावश्यक चिट काट्छ । बिना काम साइरन बजाएर हामी हिँड्दैनौँ । तर, बिरामी लिन जाँदा बजाउने हो र बिरामी फर्किँदा बजाउने हो । यसरी बजाउँदा पनि ट्राफिकले किन बजाएको भन्दै दुःख दिनुभएन । पाँच सय रुपैयाँको चिट काटेर ट्राफिक प्रहरीले धेरै दुःख दिइरहेको छ ।’

साथै उहाँले एम्बुलेन्स चालकलाई सबैभन्दा बढी समस्या हुने ठाउँ ललितपुरकोे ग्वार्को चोक भएको बताउनुभयो । उहाँले चोकमा ट्राफिक जाम हुँदा बिरामी बोकेर एम्बुलेन्स दुई तीन किलोमिटर जाममा घुमेर आउने अवस्था रहेको बताउनुभयो ।

यसैगरी उहाँले बिरामीलाई अस्पताल चाँडोभन्दा चाँडो पुर्‍याउन सकियो भने बिरामीको छिटो उपचार गराएर निको हुन्थ्यो कि भन्ने सोच भए पनि ट्राफिक जामले गर्दा चालक निकै पीडामा परेको बताउनुभयो ।

उहाँले यसमा पनि ट्राफिक प्रहरीको लापरवाहीका कारण वा पछाडिबाट एम्बुलेन्स आइरहँदा बाटो खाली नगरिदिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो भन्नु अरु केही छैन । खासगरी बिरामीलाई अस्पताल चाँडो भन्दा चाँडो पुर्‍याउन सकियो भने बिरामीको छिटो उपचार गराएर निको हुन्थ्यो कि भन्ने हो । तर, ट्राफिक जामले गर्दा एम्बुलेन्स चालक निकै पीडामा पर्छौँ । यसमा पनि ट्राफिक प्रहरीले हेलचेक्र्याइ गरिदिन्छ । एम्बुलेन्स आएपनि प्रहरी चुप लागेर बसेर हेरिरहन्छ । पछाडि एम्बुलेन्स छ भन्ने थाहा छ तर बाटो खाली गर्ने प्रयास गर्दैन ।’

उहाँले काठमाडौँको जामले सबैभन्दा धेरै तनाव दिएकाले फ्रेस भएर काम गर्न नसकिने बताउनुभयो । उहाँले ट्राफिक जाम व्यवस्थापनको लागि सरकारसँगै काठमाडौँ र ललितपुर महानगरपालिकाले यो मर्का बुझ्नुपर्ने बताउनुभयो । ‘एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्र, प्रहरीजस्ता आकस्मिक सेवाका लागि सानै भए पनि सडकमा छुट्टै लेन राख्नुपर्ने उहाँको भनाइ छ ।

‘एम्बुलेन्स, दमकललाई अलिकति सुविधा दिनुपर्‍यो । तनाव दिनु भएन् । फ्रेस दिमागले काम गर्ने वातावरण बनाइदिनुपर्छ,’ उहाँले अगाडि भन्नुभयो,‘एम्बुलेन्स चालकले रात पनि भन्दैन, दिन पनि भन्दैन, घाम–पानी भन्दैन । भात पस्किएको पनि बिरामीको फोन आएपछि छाडेर जानुपर्छ । तर, ट्राफिक जाम व्यवस्थापनका लागि सरकारसँगै काठमाडौँ र ललितपुर महानगरपालिकाले मर्का बुझ्नुपर्ने हो । ‘एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्र, प्रहरीजस्ता आकस्मिक सेवाका लागि सानै भए पनि सडकमा छुट्टै लेन राख्नुपर्‍यो ।’

विश्वभर एम्बुलेन्स र दमकल सडकमा पहिलो प्राथमिकतामा पर्छन् । एम्बुलेन्स र दमकललाई क्रसिङमा पनि सिधैँ अघि जान दिइने व्यवस्था भए पनि काठमाडौँ उपत्यकाभित्रका सडकमा घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । नेपालमा आपतकालीन सेवाका लागि छुट्टै बाटो तयार पार्न नसक्नु वा एम्बुलेन्स र दमकललाई बाटो छाड्नुपर्छ भन्ने मानसिकताको विकास नहुनु सबैभन्दा ठुलो समस्याका रुपमा देखिने गरेको छ ।

सरकारले एम्बुलेन्स सेवालाई राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ल्याएर कार्यान्वयनमा ल्याइसकेको छ । नयाँ निर्देशिका सरकारबाट स्वीकृत भएसँगै एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ खारेज गरेको थियो । मापदण्डविपरीत एम्बुलेन्स सञ्चालन गरेको घट्ना भेटिन थालेपछि सरकारले नयाँ निर्देशिका ल्याएको थियो । –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...