‘रंगी’ले दर्शकलाई रुवाउँछ, बाबु–छोरीको भावना यसमा छ : नम्रता श्रेष्ठ [भिडिओ]

42
  • प्रमिला कार्की

काठमाडौँ, २९ माघ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फागुन २ गते प्रदर्शन हुन लागेको हो ।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्नुहुँदै मिस नेपाल एवम् अभिनेत्री श्रेष्ठले फिल्मको स्क्रिप्टअनुसार आफ्नो क्यारेक्टर मन परेकाले अभिनय गरेको बताउनुभयो । आफूलाई सुहाँउदो भूमिकाको खोजीमा रहेकाले रंगीमा सोचेजस्तै भूमिका मिलेकाले आफूले फिल्ममा अभिनय गरेको बताउनुभयो ।

‘रंगीको स्क्रिप्ट पढ्दा स्कुले जीवन सम्झिँए । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ । म युवावस्थाको छु तर मेरो नेचर बच्चाको जस्तो छ । बच्चाका लागि एउटा आमाको जस्तो भूमिका गर्नुपर्ने भएकाले पनि काम गर्न मन लाग्यो । मिस नेपालपछि धेरै सामाजिक कामहरुमा व्यस्त थिएँ । अब चाहिँ अभिनयमा प्रवेश गरौँ भन्ने सोचेर रंगीमा सहमत भएको हुँ,’ उहाँले अगाडि भन्नुभयो,‘हुनतः मलाई फिल्महरुमा धेरै अफर आएको थिएन । केहीले प्रस्ताव गरेका थिए । तर, म सन्तुष्ट थिइन । किनभने त्यो एकदमै अनुभव भएका कलाकारले मात्र गर्नसक्ने खालको भूमिका आएको थियो । त्यसैले ती प्रस्तावहरुमा न्याय गर्नसक्छु जस्तो नै लागेको थिएन । त्यहीँ भएकाले फिल्म गरेको थिइन । त्यसपछि गर्नसक्ने खालको भूमिकाको खोजीमा चाहिँ थिएँ ।’

उहाँले रंगी फिल्ममा गरेको भूमिका सोचेको जस्तै भएको अनुभव सुनाउनुभयो । स्क्रिप्ट एकदमै रमाइलो खालको लागेकाले डेब्यू गरेको उहाँले बताउनुभयो ।

साथै उहाँले पहिलो फिल्म भएकाले डर धेरै नै लागेको बताउनुभयो । उहाँले पहिलो फिल्म चलेर या नचलेर भविष्य निर्धारित हुने भन्नेमा चाहिँ विश्वास नगरे पनि चल्यो भने अरु फिल्ममा राम्रो भूमिका पाउन सकिने बताउनुभयो ।

‘डर र चुनौती त भइहाल्छ । पहिलो फिल्म हो । हुनतः पहिलो फिल्म चलेर या नचलेर भविष्य निर्धारित हुने भन्नेमा म विश्वास गर्दिनँ । तर, पनि चल्यो भने त राम्रो मेरो लागि पनि राम्रो हुन्छ । निर्माण टिम पनि उत्साहित हुन्छ । म पनि मेकर्सको आँखामा पर्छु होला र आशावादी पनि छु,’ उहाँले भन्नुभयो,‘डर पनि त्यति नै लागिरहेको छ । तर, पनि फिल्मको मेकर र डाइरेक्टरप्रति पूरा विश्वास छ । फिल्म राम्रो चल्छ, फिल्म डबिङ गर्ने बेलामा पनि हेर्दाखेरी एउटा राम्रो स्टोरी बनेको रहेछ जस्तो लाग्यो । त्यहीँ भएर पनि उहाँहरुसँग डेब्यु गर्न रोजे र फिल्म सफल हुन्छ भन्नेमा विश्वस्त छु ।’

यसैगरी उहाँले फिल्म रंगीमा एउटा बाबा छोरीको सम्बन्ध एवम् माया–प्रेमलाई देखाइएको बताउनुभयो । उहाँले रंगीमा जीवनका कति धेरै रङहरु हुन्छन् त्यो सबै रङहरुलाई समेटेर रंङ्गी बनाइएको समेत बताउनुभयो ।

‘रंङ्गी चाहिँ एउटा बाबा–छोरीको सम्बन्धको कथा हो । साथसाथै जीवनको रङ भनिन्छ नि जीवनका कति धेरै रङहरु हुन्छन् ती सबै रङहरुलाई समेटेर रंङ्गी बनाइएको हो । तीन घण्टा छुट्याएर हल छिर्दा भरपूर रमाइलो हुनेछ । हसाउने, चित्त दुख्ने र आँखामा आँशु पनि देखिनसक्छ,’उहाँले भन्नुभयो, ‘रंगीलाई ट्रेलरमा पनि देख्नुभएकै होला एउटा बाबा–छोरीको सम्बन्धलाई माया प्रेमलाई देखाइएको छ । एकजना बुबाले गर्नुपरेको संघर्ष देखाइएको छ ।’

नेपाली समाजकै कथा फिल्ममा समेटिएको उल्लेख गर्नुहुँदै श्रेष्ठले भन्नुभयो,‘यस्तो कथा हाम्रो समाजमा पनि देखिरहेका हुन्छौँ । समाजमा घटिरहेको यस्तै घट्नाको सानो भाग हो रंगी । फिल्ममा मेरो क्यारेक्टर एकदमै संघर्षशील, स्वतन्त्र र शिक्षित केटीको रुपमा छ ।’

उहाँले प्राविधिक दृष्किोणबाट फिल्म एकदमै राम्रो बनेको बताउनुभयो । ‘फिल्मको कथावस्तु हेर्दा दैनिक जीवनमा घटिरहेको घट्ना पनि हो । बाबा–छोरीको माया र बाबाको इमोसन भन्नेबित्तिकै छुट्टै इम्प्रेसन परेको हुन्छ । बाबाले यो गर्दिनुभएन, त्यो गर्दिनुभएन वा माया देखाउनुभएन भन्ने हुन्छ । तर, एउटा बाबाले कस्तो संघर्ष गरिरहनुभएको छ भन्ने कथा यसमा छ,’ उहाँले भन्नुभयो ।

उहाँले आगामी दिनमा पनि फिल्म क्षेत्रलाई निरन्तरता दिने सोच रहेको बताउनुभयो । उहाँले जबसम्म फिल्म क्षेत्रमा राम्रो खालको योगदान दिन सक्दिनँ तबसम्म अभिनय गरिरहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी दिनमा पनि फिल्म क्षेत्रलाई निरन्तरता दिने सोच छ । म एउटै चिजमा धेरै टिकिरहन सक्ने मान्छे चाहिँ होइन । त्यसैले नयाँ–नयाँ कुराको अनुभव लिन मन लाग्छ । जबसम्म फिल्म क्षेत्रमा मेरो राम्रो खालको योगदान हुनेवाला छ र सन्तुष्टि चाहिँ काम गरेर मिलाउनेछु । त्यसैले यस क्षेत्रमा देखिरहनुहुनेछ । दुवै साइडबाट राम्रो भयो भने निरन्तरता दिन मन छ ।’

उहाँले आफ्नो पहिलो फिल्म भएकाले पनि फिल्मको प्रोमोसन नै सबैभन्दा चुनौतीको रुपमा हेरेको बताउनुभयो । ‘फिल्म खेलेर मात्र नहुने रहेछ । प्रमोसनका लागि दौडिरहनुपर्ने रहेछ । दर्शकसामू पुर्‍याउनुपर्ने बाध्यता छ । यसपाली भगवानले पनि जुराइदिनुभयो र ठ्याक्कै फागुन २ गते प्रेम दिवसका दिन एउटा प्रेमको कथा आउँदैछ,’ उहाँले भन्नुभयो ।

फिल्म अभिनयको अनुभव सुनाउने क्रममा उहाँले भ्यालेन्टाइन डे मनाएको स्मरण आफूसँग नरहेको बताउनुभयो । यस दिवसका अवसरमा विभिन्न अफरहरु पनि आउने भएकाले व्यापारी र ग्राहकहरुलाई राम्रो हुने बताउनुभयो ।

‘भ्यालेन्टाइन डे मनाउने भनेको प्रेम गर्ने मान्छेहरुसँग मनाउने भन्ने हो । पार्टनर, श्रीमान्–श्रीमती, परिवार सबैसँग मनाउन सकिन्छ । तर, यसलाई नराम्रो दृष्टिले मनाउने पनि गरिएको छ । हामीले यसलाई कन्ट्रोल गर्नुपर्छ, व्यालेन्स गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको सम्बन्ध विच्छेदका घटनाहरुबारे आफू अनभिज्ञ भएको बताउनुभयो । ‘मैले कसैसँग प्रेम राखेको पनि छैन, बिहे पनि भएको छैन । त्यसैले सम्बन्ध बिच्छेद नि भएको छैन । त्यहीँ भएर सम्बन्ध बिच्छेदको प्रसंगमा बोल्ने अधिकार छैन । किनभने दुईजना मान्छेले सम्बन्ध बिच्छेद गर्ने निर्णय गर्नुहुन्छ । उहाँहरुबीच के कुरा भएको हुन्छ त्यसबारे मलाई बोल्ने अधिकार छैन,’ उहाँले भन्नुभयो ।

सम्बन्ध विच्छेदका घट्नाहरु कलाकारिता क्षेत्र भन्दा पनि बाहिरी समाजमा धेरै भएको सुनाउनुभयो । ‘बाहिरको समाजमा क्यामेरा लिएर कोही जाँदैन तर कलाकारहरुको बारेमा खोजतलास भइहाल्छ । कलाकारिता क्षेत्रमा पनि बिहे गरेर उदाहरणीय बन्नुभएकाहरु धेरै हुनुहुन्छ । सबैलाई एकै नजरले हेर्नु हुँदैन । निश्चल दाइ (निश्चल बस्नेत) र स्वस्तिमा दिदी (स्वस्तिमा खड्का)को हेर्नुहोस् त टिकिरहेकै छ नि । कतिपय ठाउँमा कलाकार भएता पनि सम्बन्धलााई राम्रोसँग लिएर जानुभएको छ,’ उहाँले भन्नुभयो ।

चार वर्षअघि आफू मिस नेपालको ताज पहिरिएपछि धेरै फिल्म खेल्ने अवसर आएको सुनाउँदै फिल्मी क्षेत्र भनेको सरकारी जागिरजस्तो नभएकाले गर्नैपर्ने बाध्यता नरहेको बताउनुभयो । ‘मलाई दुईवटा फिल्म मात्र गर्न मन लाग्यो भने पुग्यो भने विश्राम लिन पाउँछु । अबको २० वर्षसम्म पनि यही क्षेत्रमा हुन्छु भन्दापनि पाउँछु,’ उहाँले भन्नुभयो ।

सुरेश न्यौपाने निर्देशित फिल्ममा नम्रतासहित सलोन बस्नेत, दिलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसीलगायतको अभिनय छ । बाबुछोरीको भावनात्मक सम्बन्धको कथामा फिल्म आधारित छ ।

नम्रता सन् २०२२ की मिस नेपाल वर्ल्ड विजेता हुनुहुन्छ । उहाँले टेलिभिजनको कमेडी शो ‘कमेडी दरबार’मा होस्टको रुपमा समेत काम गरिसक्नुभएको छ । त्यसअघि हिमालय टिभीको गायन रियालिटी शो ‘नेपाल लोकस्टार’को पनि होस्ट गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...