आगलागीबाट मन्त्रालयका महत्त्वपूर्ण कागजपत्र जोगिएका छन् : मन्त्री यादव

15

काठमाडौँ, २६ माघ । खानेपानीमन्त्री प्रदीव यादवले सिहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताउनुभएको छ । शनिबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा घट्नाबार अनुसन्धान भइरहेको प्रष्ट्याउनुभयो ।

उहाँले आगलागीमा कुनै पनि आवश्यक कागजपत्रहरु नजलेको बताउनुभयो । डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्त्वपूर्ण कागजपत्रहरु जोगिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महत्त्वपूर्ण कागजपत्रहरु बचेका छन् । कुनै पनि आवश्यक कागजपत्रहरु मेरो टेबुलमा थिएन । डकुमेन्ट हस्ताक्षर गरेर सचिवलाई पठाइहाल्ने बानी छ । कहिले पनि टेबुलमा फाइल रहँदैन थियो । त्यसकारण पनि अफिसियल कागजपत्र जलेका छैनन् ।’

उहाँले शुक्रबार कार्यालयमा केही गन्ध आएको र त्यो पानी तताउने मेसिन हिट भएर होला भन्ने सोचेको बताउनुभयो ।

‘हिजो म कार्यालयमा हुँदा गन्ध आएको थियो । मैले कार्यालय सहयोगीलाई सोधे उहाँले पानी तताउने मेसिन हिट भएरहोला भन्नुभयो । अनि प्लक निकालेर सवा पाँच बजे निस्कियौँ । बिहान यस्तो दुःखद् घटना घट्यो,’ उहाँले भन्नुभयो, ‘यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तीनवटा सिसिक्यामेराको मनिटर, एक थान कम्प्युटर, डेक्सटप, पानी तताउने मेसिन, टेबुल, सोफालगायत अन्य सामानहरु जलेका छन् ।’

शनिबार बिहान करिब पौने ८ बजे खानेपानी मन्त्रालयमा आगलागी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...