काठमाडौँ, २६ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकप्रति गम्भीर नभएको बताउनुभएको छ ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले ओली देश चलाउनका लागि र जनताको समस्या समाधानका गर्नका लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्न केन्द्रित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मुलुक सञ्चालन गर्ने कुरामा गम्भीर हुनुहुन्न । जनताको समस्या समाधानका गर्नका लागि जिम्मेवार हुनुभएको छैन । सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित भएर लाग्नुभएको छ । जसका कारण मुलुकको भविष्य संकटमा पर्ने सम्भावना देखिन्छ ।’
साथै उहाँले कांग्रेस र एमालेलाई संख्याको मात लागेको भए छिमेकी देश बंगलादेश र श्रीलंका सम्झिन आग्रह गर्नुभयो । उहाँले संख्याको मात लाग्यो भने, यसको दुरुपयोग गर्न थाल्यो भने त्यसको प्रतिकार गर्न जनता सडकमै उत्रिने बताउनुभयो ।
‘अहिले उहाँले नयाँ भाष्य ल्याउनुभयो नेपालमा दुईवटा ठुला पार्टी मात्रै छन् भन्ने बुझाइरहनुभएको छ । दुई दलीय व्यवस्था नेपालमा स्थापित गर्नुपर्छ भन्ने ओलीको सोच छ, बहुदलीय होइन । संविधान संशोधन गरेर बहुदलीय नभइ दुई दलीय शासन प्रणाली स्थापित गर्न खोज्नुभएको हो कि ? हामी त्यो पर्खेर बसिरहेका छौँ,’ उहाँले अगाडि भन्नुभयो,‘उहाँहरुलाई संख्याको मात लागेको छ भने छिमेकी देशहरु सम्झिनुस् । चाहे बंगलादेश होस्, चाहे श्रीलंका होस्, त्यसले पाठ त सिकाइसकेको छ । संख्याले मात्र केही पनि हुँदैन, त्यो संख्याको मात लाग्यो भने यसको दुरुपयोग गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्न जनता उत्रिने छन् । जनताभन्दा शक्तिशाली कोही पनि हुँदैन ।’
यसैगरी उहाँले पदमा बस्नको लागि धेरै आतुर हुने, तर पदीय जिम्मेवारी पूरा नगर्ने प्रवित्ति बढेको बताउनुभयो । उहाँले जनतामा नयाँ आशा, भरोसा र विश्वास दिलाउन सक्नुपर्ने औँल्याउनुभयो ।