‘…त्यसपछि रुखमा बाँधेर बुबालाई गोली हानेर मारे’

34

काठमाडौँ, २३ माघ । त्यसबेलाको घट्ना आज सम्झिन नपरोस जस्तो लाग्छ । जुनबेला बुबा (शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरिए)को घट्ना हुँदा माघ महिना थियो । २०५८ माघ ३ गतेको घटना हो । त्यतिबेला म लमजुङको घरमा नै थिए । त्यो समयमा म काठमाडौँमा पढ्ने पढाउने काम पनि गर्थेँ । जाडो बिदा भएकाले म घर गएको थिएँ । माघको ४ गते काठमाडौँ आउने योजना थियो । ३ गते दिउँसो त्यो घटना घट्यो ।

उहाँलाई स्कुलको कक्षा कोठाबाटै नकावधारीहरुले लिएर गएको कुरा सबैभन्दा पहिले छिमेकीहरुले खबर गर्नुभएको हो । हामी घरमा भएपनि लगेको थाहा भएन । घटना भएपछि मात्र थाहा भयो । त्यतिबेला देशैभरि संकटकालीन अवस्था थियो । माओवादीहरुको सहरमा भन्दा बढी गाउँमा दबदबा थियो । स्कुलमा त्यतिबेलाको हेडसर छोडेर विस्तापित हुनुभएको थियो र बुबा त्यतिबेला कार्यवाहक हेडसर हुनुहुन्थ्यो । माघको २ गते जिल्ला शिक्षा कार्यलयले बुवालाई बोलायो । बुवा गएर हेडसरको पत्र बुझेर आउनुभयो र ३ गते व्यवस्थापक समितिको बैठक राखेर अनुमोदन गराएर हेडसर हुने योजनामा हुनुहुन्थ्यो । बेलुकीको समयमा व्यवस्थापन समितिको बैठक बस्दै थियो । तर, दिउँसो १ बजे नै उनीहरु आएर अपहरण गरे । आधा घण्टा माथि अर्थात् मेरो घरको आडकै ठाडो बाटो लगेर गएछन् । अनि रुखमा बाँधेर हत्या गरेछन् । घरमा आमा, बहिनीहरु र मैले ३ बजेतिर मात्रै थाहा पाएका हौँ । उनीहरुले बुबालाई सबै शिक्षकहरुको २५ प्रतिशत तलब संकलन गरेर दिनु भनेका थिए तर नदिने सल्लाह भएछ ।

नदिने भन्ने सल्लाह भएपछि बुबालाई आफ्नो भए पनि दिनु भनेका थिए रे । नदिने सल्लाह भएकाले साथीहरुलाई धोका दिन मिल्दैन र म दिन्न भन्ने कुरा गर्नुभएको रहेछ । दोस्रो आरोप भनेका संस्कृत पढाएको भन्ने आरोप पनि कतै कतै सुनिन्छ । संस्कृत बढाउने कुरा राज्यको नीति नै थियो । एउटा व्यक्तिले गर्ने वा नगर्ने कुरा थिएन । बुबाको हत्याको अरु कारण छैन । लेबी नदिएको र संस्कृत पढाएको आरोप मात्र थियो ।

हामी बसेको आसपासको क्षेत्रमा माओवादीको प्रभाव थिएन, त्यहीँ भएर त्यो ठाउँमा भएका प्रभावशाली व्यक्तिहरुलाई हटाउने वा हत्या गर्ने हो भने हाम्रो कब्जा हुन्थ्यो भन्ने मनसायले हत्या गरेको पनि देखिन्छ ।

माओवादीले मारेपछि सुराकी भन्ने चलन पनि थियो, त्यो पनि आरोप छ । यहीँ विभिन्न कारणले उनीहरुले आफ्नो अभियानमा अवरोध ठानेको हुनाले बुबाको हत्या गरे । व्यक्ति हत्या र हिंसामा मेरो समर्थन छैन, चन्दा पनि दिन सक्दिन भन्ने बुबा विचार थियो ।

बुबालाई लिएर जाने बेलामा मुकुन्डो लगाएर माओवादीहरु आएका थिए भन्ने सुनेको हो । उनीहरु आएर बुबा पढाउने स्कुल पाणिनी संस्कृत माध्यमिक विद्यालय हो । त्यहाँ गएर कक्षा कोठामा पढाइरहेको अवस्थामा विद्यार्थीहरुकै अगाडि हात, खुट्टा बाँधेर १० मिनेट केही कुरा गर्नुछ, कुरा गरेर फिर्ता लिएर आउँछौँ भनेर लिएर गएका थिए रे । हामीले घटना भएपछि मात्र थाहा पाएका हौँ ।

भौतिक र मानसिक यातना पनि भयो बुबालाई, आधा घन्टाभन्दा बढीको बाटो बाँधेर हिँडाएर लगेका रहेछन् । पाइला धेरै चाल्न नसक्नेगरी दुवै खुट्टामा र पछाडिपट्टी हात बाँधेर लिएर गएका थिए रे । अनि डाँडाको उतिसको रुखमा बुबाले नै लगाउनुभएको गलबन्दीले रुखमा बाँधेर त्यसपछि गोली हानेर हत्या गरेका रहेछन् ।

उहाँको हत्यापछि काजकिरिया घरमा नगर्ने, त्रास छ भन्ने थियो । तर, हामीले घरमै गर्ने भन्यौँ । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय गएर उजुरी हाल्यौँ । घटनाको छानबिन, दोषीलाई कारबाही भनेर माग पनि गरेका थियौँ । त्यो बेला हालेको उजुरी आजको दिनसम्म पनि त्यसको केही सुनुवाइ भएको छैन । मानव अधिकार आयोग, सत्य निरुपण आयोगमा ०७२ सालमै उजुरी हाल्यौँ । आज २३ वर्ष बितिसक्यो कुनै सुनुवाइ भएको छैन ।

यतिका वर्षदेखि अभियानकै रुपमा लागिरहेको छु, केही भएको छैन । भनेपछि हजारौँ पीडितहरुको सुनुवाइ राज्यले कहिले गर्ला ? सरकार यसमा कति पनि गम्भीर, इमान्दार, संवेदनशिल भएर यतातर्फ लागेकै छैन ।

(सशस्त्र द्वन्द्वकालमा लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई २०५८ माघ ३ गते तत्कालीन माओवादी कार्यकर्ताले विभत्स तरिकाले हत्या गरेका थिए । अधिकारीका छोरा सुमन अधिकारीसँग गरिएको कुराकानीमा आधारित ।)

Share This:
सम्बन्धित खबर
Loading...