गायक सविन श्रेष्ठको ‘बिहानीको किरण’ सार्वजनिक

6

काठमाडौँ, २० पुस । गायक सविन श्रेष्ठले ‘बिहानीको किरण’ बोलको नयाँ गीत सार्वजनिक गर्नुभएको छ । गीतमा उहाँकै शब्द र संगीत छ ।

गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ । धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ । गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ ।

‘बिहानीको किरण..’ सविनप्रतिको आशा र उनको संगीत यात्राको उत्सव पनि हो । प्रेम र साथको सुन्दर भावनालाई समेटेर तयार पारिएको गीतले श्रोतालाई सविनको कथा पनि भन्छ ।

“संगीतले मलाई नयाँ जीवन दिएको छ । यो गीत मेरो जीवनको त्यही यात्रा हो, जसले मलाई जिन्दगीलाई फेरि प्रेमिल बनाएको छ,” सविन भन्नुहुन्छ, “केही आफ्नै भोगाइ र केही कल्पनाको समीक्षण गीतमा समेटेको छु ।”

सविनले गीतको भिडिओ पनि तयार पार्नुभएको छ । जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गर्नुभएको छ । भिडिओको निर्देशन पनि जीवन र लक्ष्मीले नै गर्नुभएको छ । बुद्ध थापाले खिचेको भिडिओ विष्णु खड्काले सम्पादन गर्नुभएको छ । गीत निर्माणमा दिमेश श्रेष्ठलगायतको लगानी छ ।

यसअघि, सविनले ‘माया…’ बोलको गीत सार्वजनिक गर्नुभएको थियो । जुन गीत श्रोता र दर्शकले मन पराएका थिए ।

सविनलाई सवारी दुर्घटनाले संगीतको बाटो हिँड्न प्रेरित गरेको हो । २०७९ साल माघ २० गते बिहान सविन एक गम्भीर दुर्घटनामा परे । उनी होसमा आउँदा अस्पतालको शैयामा थिए । शरीरभरि असह्य पीडा, आँखा खोल्दा आफन्तहरूको आँसुले भिजेको अनुहार । त्यो दिनबाट सविनको जीवनको पहिलो अध्याय समाप्त भयो । दोस्रो अध्याय सुरु भयो, त्यो दोस्रो अध्याय संगीतको बाटो हो ।

उहाँ भन्नुहुन्छ, “मेरो जीवनको पहिलो २० वर्ष पहिलो अध्यायलाई भएछ । त्यसपछि दोस्रो अध्याय सुरु भयो, जुन संगीत हो ।”

संगीतलाई साथी बनाएका उहाँ यसैसँग बाँचिरहनुभएको छ । संगीतको साधना र त्यसमा गरेको मेहनतलाई दर्शक र श्रोताले कदर गरेपछि उहाँ अहिले यसमै रमाइरहनुभएको छ ।

अहिले उहाँको अधिकांश समय संगीतको अध्ययन र साधनामा बित्ने गरेको छ । जसले उहाँलाई आनन्द दिन्छ । गीत र धुनहरूले उहाँको मनमा हराएको रंग फेरि फिर्ता गरिदिएको छ । दुर्घटनाले केही समय खोसेको खुसी फिर्ता भएको छ ।

दुर्घटनापछि सविनको संगीत यात्रा नारायणगोपालको ‘गल्ती हजार हुन्छन्..’ गीतबाट सुरु भयो । उहाँका काकासमेत रहनुभएका दिमेश भन्नुहुन्छ, “सविनले पहिलो पटक गितार हातमा लिएर त्यो गीत गाएको क्षण म कहिल्यै बिर्सिन सक्दिनँ । उसको स्वरमा सम्भावना देखेपछि मैले उसलाई गाउन प्रेरित गरेँ ।”

यो प्रेरणा नै सविनको जीवनको नयाँ गन्तब्य बन्यो । सबिन अहिले त्यही गन्तब्य भेट्ने बाटोमा छन् । सविनका लागि दुर्घटनापछि सुरु भएको दोस्रो अध्याय केवल संगीतको यात्रा मात्र होइन, जिन्दगीप्रतिको नयाँ दृष्टिकोण पनि हो । उहाँ भन्नुहुन्छ, “समय रंगीन हुनु र मन खुसी हुनु नै जीवनको रंग हो जसले खुसी दिन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...