काठमाडौँ, १४ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदले प्रश्न मात्र होइन जवाफ पनि दिनुपर्ने बताउनुभएको छ ।
एन्टिडोपिङ्ग खेल पोषण कक्ष, अडियो भिडिओ प्रस्तुति तथा निर्देशनात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँले समाजमा बढी प्रश्न गरिने गरेकाले खेलकुद क्षेत्रले यसको जवाफ दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘एउटा लक्ष्य, एउटा जिम्मेवारी छ । समाजलाई जवाफ दिने चरित्र कस्तो हुनुपर्दछ भनेर सन्देश दिनका लागि खेलकुदको विशेष महत्त्व छ । समाजमा बढी प्रश्न गर्ने गरिन्छ । तर, जवाफ दिने कोही हुँदैन । तर खेलकुदले प्रश्न मात्र गरेर सुख पाउँदैन । जवाफ पनि दिनु पर्दछ । आफ्नो कामलाई समयमै हामीले सुरुवात गर्नुपर्छ ।’
साथै उहाँले एउटा उदेश्य र लक्ष्यका साथ जवाफ दिनका लागि तयार रहन समेत आग्रह गर्नुभयो । उहाँले खेलकुदको लामो यात्राको समीक्षा गर्दा आ–आफ्नो कोणबाट प्रश्न र जवाफ दिन सजिलो हुने बताउनुभयो ।