जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : प्रचण्ड

22

रुपन्देही, २९ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताउनुभएको छ ।

रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित नेकपा (माओवादी केन्द्र)सँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय जहाँ गए त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन । प्रतिक्रियावादी जालिझेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन् । हामी समाजवादी नयाँ आन्दोलनमार्फत् त्यसको प्रतिवाद गर्ने छौँ । भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्धिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ । को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घिणा देखिएको भन्ने संकेत देखिएको छ ।’

अध्यक्ष प्रचण्डले थप्नुभयो,‘जनताले मनमनै फैसला गरिसकेको छ । जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिर्वतनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ ।’

माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उहाँले बताउनुभयो ।

आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उहाँले बताउनुभयो ।

प्रचण्डले भन्नुभयो,‘म सरकारमा रहँदा भ्रष्टाचारीहरुलाई कारबाही अगाडि बढाए । धेरै राजनीतिक नेताहरु, ठुला ठुला कर्मचारी, भूमाफियाहरुलाई कारबाही गरी राज्यको सम्पत्ति जनताको हातमा ल्याउने काम गरे ।भ्रष्टाचारीहरुहरुविरुद्धको कारबाही अगाडि बढाउँदा म प्रचण्ड नै अगाडि देखिए त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो । मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मेहनत गरियो । त्यसैगरी विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो । अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो ।’

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न निर्देशन समेत उहाँले दिनुभयो ।

कार्यक्रमा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित जनमुक्ति पार्टीका नेताकार्यकर्ताको ठुलो टिम माओवादी केन्द्रमा समाहित भएको थियो । साथै, कांग्रेस–एमाले परित्याग गरी कांग्रेस–एमालेका नेता कार्यकता समेत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...