काठमाडौँ महानगरपालिका ७७ वटै जिल्लाबाट आउने नागरिकहरुका लागि राजधानी बन्न सकोस् : मेयर शाह

11

काठमाडौँ, २९ मंसिर । काठमाडौँ महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौँको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३०औँ महानगर दिवस मनाएको हो ।

दिवस मनाउँदै काठमाडौँ महानगरपालिकका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौँ महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले काठमाडौँ महानगरपालिकाको सुशासन र व्यवस्थापनलाई सुदृढ बनाउने सबैमा कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ आज यो ३०औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो । महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा सबैले सहयोग पुर्‍याउनु भएको छ । महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाई कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । काठमाडौँ महानगरपालिकाको सुशासन र व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरुलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु । काठमाडौँ महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु । सबैले महानगरको लागि शिक्षा, स्वस्थ्य, सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनुभएको छ ।’

साथै उहाँले यो महानगरपालिका आफैँमा राजधानी भएको बताउनुभयो । उहाँले राजधानीबासीका लागि मात्र नभएर यो महानगरपालिका ७७ वटै जिल्लाबाट आउने सम्पूर्ण नागरिकहरुको आफ्नो राजधानी बन्न सकोस् भनेर शुभकामना व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...