पोखरामाथि काठमाडौँको फराकिलो जित

32

काठमाडौँ, २९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौँले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाडौँका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे । उनले ३४ बलमा ६० रन बनाएर आउट भए । काठमाडौँका लागि स्टेफेन र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । लेभिटले ३२ रन बनाए ।

भीम सार्की २२, कप्तान करण केसी १ रनमा आउट हुँदा गेरहार्ड इरास्मस २५ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले ३ र माइकल लिस्कले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो । पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाउँदा दिनेश खरेलले ३८ रनको योगदान दिए ।

दिलिप नाथ २७ र कप्तान कुशल भुर्तेल ७ रनमा आउट भए । काठमाडौँका लागि कप्तान करण केसी र रसिद खानले समान ३–३ विकेट लिए । गेरहार्ड इरास्मसले एक विकेट लिन सफल भए ।

यस खेलमा विजयी काठमाडौँको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । काठमाडौँले अन्तिम खेलमा आइतबार विराटनगर किंग्ससँग खेल्ने छ ।

पराजित पोखराको पनि प्लेअफ प्रवेशको अंक गणितीय सम्भावना कायमै रहेको छ । पोखराको अन्तिम खेलमा आइतबार सुदूरपश्चिम रोयल्स हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...