‘लिम्बुवानका अभिलेख सङ्ग्रह’: दशीप्रमाण खोज्नेहरूका लागि महत्त्वपूर्ण

9

काठमाडौँ, २१ असोज । इतिहास अन्वेषक भगिराज इङ्नामले ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ कृति प्रकाशनमा ल्याउनुभएको छ । मुन्धुम एकाडेमी प्रकाशक रहेको यस कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालगायतले विमोचन गर्नुभयो ।

इतिहासकार इङ्नामका अनुसार अघिल्लो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’मा नपरेका अभिलेख तथा दस्तावेज यसमा समेटिएका छन् ।

‘त्यस हिसाबले यो अभिलेख सङ्ग्रह अघिल्लो दस्ताबेज सङ्ग्रहको पूरक एवं निरन्तरता पनि हो’, उहाँले किताबमा लेख्नुभएको छ । यस ग्रन्थमा संग्रहित दस्तावेज सेन, शाह र सिक्किमे राजाहरूले पल्लो किरात, लिम्बुवानका लिम्बू, याक्खा, आठपहरियालाई राय, राए, राई सम्बोधन गरी प्रदान गरेका लेखकको भनाइ छ ।

पूर्वकुलपति काइँलाले यो किताबले दुई सय–तीन सय वर्षभित्रका कुराहरूको जानकारी दिने बताउनुभयो । ‘हाम्रो राजनीतिक अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थितिहरूको बारेमा यहाँ भएका टिपोट, लालमोहर, रुक्का, सनद, सवाल, कस्यरुक्का, आदि जो छन् तिनले हामीलाई यो बताउँछ’, उहाँले भन्नुभयो, ‘हाम्रो स्थिति के थियो ? समाज कसरी चल्थ्यो भन्ने कुरा यी यहाँ संग्रहित गरिएका कागजपत्रले हामी बुझ्छौँ । हाम्रो सामाजिक चालचलन, हाम्रो सांस्कृतिक थितिहरूको कुराहरू हामी बुझ्छौँ ।’

इतिहासकार दिनेशराज पन्तले नेपाल सरकारको उच्च अधिकृतबाट सेवानिवृत्त भएपछि इङ्नामले गरेका कार्य सबै नेपालीका लागि अनुकरणीय भएको बताउनुभयो । ‘उहाँले जुन इतिहासका किताबहरू लेख्ने, सामग्री संकलन गर्न थाल्नुभयो त्यो कामले लिम्बुवान क्षेत्रलाई मात्र होइन, त्यो किरात क्षेत्रलाई मात्र होइन, पूर्वाञ्चलको क्षेत्र, अहिले कोसी प्रदेश (अहिले यो नाम भएन भनेर झगडा पनि चलिरहेको छ)’, उहाँले भन्नुभयो, ‘सम्पूर्ण नेपालका लागि चाहिँ एउटा सबैले अनुकरण गर्नुपर्ने काम भएको छ ।’

विश्लेषक बालकृष्ण माबोहाङले यो कृतिलाई अघिल्लोको निरन्तरता भन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘लिम्बू जाति÷जनजाति र लिम्बुवानको विषयमा, लिम्बुवानका अन्य जाति र जनजातिहरूको विषयमा पनि जो निरन्तर उहाँले यो अध्ययन अथवा सामग्रीहरू संकलन गर्ने काम गरिरहनुभएको छ । त्यसको एउटा प्रकाशित यो कृति हो’, उहाँले भन्नुभयो, ‘उहाँले छरपष्ट रूपमा, व्यक्ति–व्यक्तिमा, च्यातिएको अवस्थामा, फ्याँक्न लागेको अवस्थामा, घुन लागेर अथवा डढेर घर–घरमा कतिपयले संकलित गर्दागर्दै हराएका र संकलित भएर रहेका सामग्रीहरूलाई संकलन गरेर ल्याउनुभएको छ ।’

उहाँका अनुसार यो कृति पाठक, दशीप्रमाण खोज्नेहरूका लागि महत्वपूर्ण छ । अझ लिम्बुवानको सामाजिक, सांस्कृतिक र राजकीय मामलामा अध्ययन गर्ने शोधकर्ताका लागि साह्रै ठुलो काम भएको उहाँको भनाइ थियो ।

इङ्नामको अघिल्लो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ले मदन पुरस्कार पाएको थियो । उहाँले त्यसअघि ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ र ‘लिम्बू जातिको इतिहास’ प्रकाशन गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...