आगजनीमा परेका ट्रक चालकको मृत्यु

24

बिर्तामोड, २१ असोज । दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्युु भएको छ ।

बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टी–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।

सुनसरीको दुहबीमा जुट (पाटा) पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको सो ट्रकमा १०/१२ जनाको समूहले आगजनी गरि फरार भएको थियो । उक्त ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्रकका चालक भारत इस्लामपुर बस्ने वर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए ।
उनको उपचारका लागि बिएण्डसी अस्पतालमा उपचार भइ थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भइरहेको अवस्थामा शनिबार मृत्यु भएको हो ।

चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए । घटनापछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर शव नेपाल ल्याइएको छ । उक्त शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले प्रसाईले भर्खरै गठन गरेको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भीम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...