खस्कियो दसैँ बजार, उत्साहित छैनन् व्यापारी

23
  • प्रमीला कार्की

काठमाडौँ, १८ असोज । काठमाडौँ उपत्यकाका मुख्य बजारमा दसैँको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो गरेका छन् । दसैँको मुखमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै ब्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ ।

बाढी पहिरोअघि दसैँ बजार विस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उपत्यकाका मुख्य बजारहरु असन, न्युरोड, महाबौद्ध, भोटाहिटी, ललितपुरको मंगलबजार, लगनखेल, भक्तपुरको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्या विगतको तुलनामा कम देखिएको छ ।

असनका व्यापारी लक्ष्मण भुषाल पहिलेको तुलनामा यसवर्ष व्यापारमा ह्वात्तै कमी आएको बताउनुभयो । ‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढी पहिरो आयो । राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन । अर्डर गरेको सामानहरु बाटोमै अलपत्र परेको छ । नेपालमा पैसा कमाउने बातावरण नै छैन । देशसँग नै पुँजी छैन । विदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन,’ उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरमा फुटपातका पसलहरु हटेका कारण पनि बजार खस्किएको व्यापारीहरुको भनाइ छ । ‘पहिले पहिले पसलका सामानहरु फुटपातका व्यापारीले उठाइदिन्थे । अहिले त्यस्तो छैन । किनमेल गर्न आएकाहरु पर्यटकजस्ता छन् । भिडभाड नै छैन । सामन डेलिभर गर्न पनि एक हप्तासम्म लाग्ने गरेको छ,’ असनकै अर्का व्यापारीले भने ।

काठमाडौँ उपत्यकाभित्रका पसलहरुमा ७० प्रतिशतले व्यापार घटेको उनीहरुको भनाइ छ । विगतका वर्षहरुमा जस्तो यसवर्ष आर्थिक मन्दी र बाढी पहिरोको दुवै प्रभावले व्यापार घटेको व्यापारीहरुको भनाइ छ । दसैँ लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भए पनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे । -नपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...