काठमाडौँ, १० असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबारे चाँडै नै नयाँ समाचार सुन्न पाइने बताउनुभएको छ ।
बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आफूहरु समाजवादी मोर्चालाई, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा रहेको भन्दै केही समयभित्र नै पार्टी एकताको समाचार सुन्न पाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी समाजवादी मोर्चालाई बलियो बनाउने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा छौँ । मलाई विश्वास छ केही समयभित्र नै केही नयाँ समाचार सुन्नु हुनेछ । एकताको र मोर्चाको अभियानमा लागिरहेका छौँ । सम्मेलनले त्यो मोर्चामा आवश्यक नीति, योजना र कार्यक्रम गर्नेछ ।’
उहाँले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्ने पनि बताउनुभयो । ‘थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौँ । भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौँ, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ । यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ,’ उहाँले भन्नुभयो ।
उहाँले आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नु पर्नेसम्मको अवस्था आएको बताउनुभयो ।
विरोधीहरुले सधैँ षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरुको दायित्व हुने उहाँको भनाइ थियो । ‘हिजो जनयुद्धभरि एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो । अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौँ । संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौँ । अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुने छौँ, त्यसका लागि तपाईं विद्यार्थीहरु तयार हुनुहोला,’ उहाँले भन्नुभयो ।