झापा, २७ भदौ । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी हुनेको संख्या बढेको छ । हालसम्म बिरामीको संख्या ७३ जना पुगेको नगरस्थित शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजविक्रम खड्काले जनाउनुभयो ।
बुधबार अर्जुनधारा–९ की रिता निरौलाको घरमा पूजा आयोजना भएको थियो । सो पूजामा प्रसाद खाने उनीहरु बिरामी परेका हुन् । स्थानीय खरबन्दी गाउँमा प्रसाद खाएका सबैजना बिरामी भएको अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देन तामाङ जानकारी दिनुभयो ।
बिरामी भएकामध्ये ६६ जनाको शनिश्चरे आधारभूत अस्पताल, बिएण्डसी अस्पतालमा चार जना र मनमोहन अस्पतालमा तीन जनाको उपचार भइरहेको खड्काले बताउनुभयो । उहाँले बुधबार उपचार गराएर गएका पनि फेरि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएको बताउनुभयो ।
पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांश बिरामी परेको बताइएको छ । सुरुमा वाक वाक लाग्ने, वान्ता हुने तथा लगातार झाडापखला हुने समस्याले सताएपछि प्रसाद खाएका बिरामीहरु अस्पतालमा भर्ना भएका हुन् । केही बिरामीहरुमा ज्वरो १०४ डिग्रीसम्म देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
शनिश्चरे आधारभूत अस्पतालमा बेड अभावमा बार्दली, प्यासेज लगायतका स्थानमा राखेर बिरामीको उपचार भइरहेको जनाइएको छ । अस्पतालले सम्पूर्ण स्रोत साधन प्रयोग गरेर बिरामीको उपचार गरिरहेको नगरप्रमुख गोम्देनले जानकारी दिनुभयो । उनीहरुमा फुड पोइजन भएको डाक्टरहरुले अनुमान गरेका छन् ।