काठमाडौँ, ७ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्व र अन्य समयमा खाद्यन्नको अभाव नहुने बताउनुभएको छ ।
शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले नयाँ करका दरहरु हेरफेर हुँदा बजारमा मूल्यको प्रभाव परे पनि खाद्यान्न वस्तुको अभाव नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चाडपर्वलाई विषेश लक्षित गरेर अहिलेको अत्यावश्यक र दैनिक खाद्य तथा उपभोग्य वस्तुहरुको अभाव हुने छैन । मूल्य श्रृंखला यतिखेर जुनस्तरमा छ । खासगरी चालु आर्थिक वर्षको बजेटको आसपासमा छ । बजेट आइसकेपछि बजेटका दरमा करहरु सरकारले निर्धारण गर्छ । कर निर्धारण भइसकेपछि त्यसको केही असर बजारमा जान्छ नै त्यसले गर्दा थोरै मूल्य त्यसको दबाबमा पर्नु स्वभाविक हो ।’
साथै उहाँले खुला सीमाका कारण नेपाली बजारमा प्रभाव परिरहेको बताउनुभयो । उहाँले खुला सिमामा निगरानी, अनुगमन र प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभयो ।