कलाकारको गाईजात्रा : ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य

29

काठमाडौँ, ४ भदौ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हास्य व्यङ्ग्यसँग पनि जोडिएको छ ।

गाईजात्राको अवसरमा हास्यकलाकारहरुले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा रहेका विकृति र विसंगतिलाई प्रस्तुत गर्ने गर्छन् । गाइजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले हास्यकलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ ।

हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गर्नुभयो ।

कलाकार सिम्खडाले ‘कहिले घाँस कहिले दाउरा, पँधेरीमा पानी, घाँस, दाउरा, पानी गर्दै सकियो जवानी’ भन्ने गीतलाई प्यारोडी गाउनुभएको थियो । उहाँले प्यारोडीमा देशमा व्याप्त भ्रष्टाचार र युवाहरुको विदेश पलायनलाई समेट्नुभएको थियो ।

‘कहिले यती, कहिले ओम्नी, कहिले गिरीबन्धु कहानी, भुटानी शरणार्थीमा सुन्छु भाउजुको कहानी,’ उहाँले प्यारोडीमार्फत व्यङ्ग्य गर्नुभएको थियो ।

बाल हास्यकलाकार सुयसा खनालले आफूलाई सबैभन्दा मनपर्ने पत्रकार ऋषि धमला रहेको बताउँदै राष्ट्रिय नाचघरमा जारी गाईजात्रामा पनि उनकै क्यारिकेचर गरेको बताउनुभयो । उहाँले आफूले गरेको क्यारिकेचरको छोटो अंश पनि प्रस्तुत गर्नुभयो ।

सुयसाले आफ्ना बाबु सन्तोष खनाललाई ऋषि धमला बनेर प्रश्नहरु सोधेकी थिइन् । सुयसाले गाइजात्रामा खस्किँदो अवस्थामा रहेको देशको शैक्षिक अवस्थाप्रति पनि व्यङ्ग्य गर्नुभयो ।

अर्का हास्यकलाकार दमन रुपाखेतीले आफूहरुले जति व्यङ्ग्य गरेपनि नेताहरु नसुध्रिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

हास्यकलाकार दिनेश काफ्लेले यतिबेलका देशमा सबैलाई महँगी र भ्रष्टाचारले पिरेको बताउनुभयो । उहाँले देशमा रोजगारी नपाएर दैनिक रुपमा विदेश पलायन भइरहेका युवाहरुको पीडालाई समेत प्रस्तुत गर्नुभयो । उहाँले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको क्यारिकेचर गर्नुभएको थियो ।

हास्यकलाकार हिमेश पन्तले गाईजात्राको शुभकामना व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय नाचघरमा हिजोदेखि गाईजात्रा महोत्सव सुरु भएको र आगामी भदौ १० गतेसम्म निरन्तर चलिरहने जानकारी गराउनुभयो ।

त्यसैगरी, अर्का हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला)ले विगत २१ वर्षदेखि निरन्तर गाईजात्रा निकाल्दै आएको बताउनुभयो । यसपटक ओएसआर डिजिटलमार्फत् ‘ठगठाग कम्पनी’ गाईजात्रा रिलिज गरेको जानकारी गराउनुभयो ।

जोगिन्दरले सोही गाईजात्राको अंश प्रस्तुत गर्नुभयो । उहाँले माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री ओली, माधव नेपाल, शेरबहादुर देउवा, महन्थ ठाकुर, रवि लामिछाने, महेश बस्नेत, अशोक राई, बालेन शाहलगायतमाथि व्यङ्ग्य गर्नुभएको थियो ।

हास्यकलाकार जितु नेपालले वर्षौँदेखि गाईजात्रामा व्यङ्ग्य गर्दापनि नेताहरु नसुध्रिएको बताउनुभयो । उहाँले देश नबन्नुमा नेताहरुको हात छैनजस्तो लाग्न थालेको सुनाउनुभयो । नेपालले नेता होइन, अब देश सुध्रिएमात्रै नेपाल बन्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भेटवार्तातर्फ लक्षित गर्दै उनले व्यङ्ग्य गर्नुभयो ।

कलाकार नेपालले हास्यव्यङ्ग्य क्षेत्रलाई सामान्य औषधि र एन्टिबायोटिकले काम गर्न छाडेको बताउनुभयो । उहाँले हास्यव्यङ्ग्यमा अप्रेसनको आवश्यक्ता औँल्याउनुभयो । ‘अहिलेको हास्यव्यङ्ग्यलाई एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था छ । अप्रेसन गर्नुपर्ने बेला आइसकेको छ । हामीले गर्ने हास्यव्याङ्ग्य पनि सामान्य औषधिजस्तो भइसकेको छ,’ उहाँले भन्नुभयो ।

हास्यकलाकार राजा राजेन्द्रले पत्रकार धमलाको क्यारिकेचर गर्नुभयो । उहाँले पत्रकार धमलाले आफ्नो आलोचनालाई जहिले पनि स्वीकार गर्ने गरेको भन्दै उनले प्रशंसा गर्नुभयो । राजा राजेन्द्रले स्वर्गीय पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, महानायक राजेश हमाल, प्रधानमन्त्री ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा.बाबुराम भट्टराइलगायतको क्यारिकेचर गर्नुभएको थियो । राष्ट्रिय नाचघरमा जारी गाईजात्रामा पत्रकार धमलाको पनि क्यारिकेचर रहेको बताउँदै हेर्न आउन निमन्त्रणा पनि दिनुभयो ।

अर्का हास्यकलाकार शैलेन्द्र सिम्खडाले आफूले ४५ वर्षदेखि निरन्तर गाइजात्राको प्रस्तुति गरिरहेको बताउनुभयो । पहिला गाइजात्राको अवसरमा वर्षको एक हप्तामात्रै व्यक्ति तोकेर व्यङ्ग्य गर्न पाइने अवस्था पनि उहाँले स्मरण गर्नुभयो । सिम्खडाले गाइजात्राको अभिव्यक्तिलाई सहज रुपमा लिइदिन पनि आग्रह गर्नुभयो । यसपटक प्रज्ञा भवनमा ५’शो र राष्ट्रिय नाचघरमा ११ शो गाईजात्रा प्रदर्शन गरिने पनि उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा उहाँले कवितामार्फत् राजनीतिक नेतृत्वमाथि व्यङ्ग्य गर्नुभयो । पत्रकार धमलाले अबबाट ‘सकरात्मकताको खोजी गरौँ’ भन्ने प्रस्ताव गरेको स्मरण गराउँदै उहाँले त्यो अवस्था नरहेको बताउनुभयो । उहाँले राजनीतिक व्यक्तित्वमाथि कवितामार्फत् यसरी व्यङ्ग्य गर्नुभयोः
‘श्रीमान् ममाथि लागेको आरोप मिथ्या छ ।
मैले प्रष्ट भन्दा उहाँहरुले भ्रष्ट सुन्नुभो ।
मैले गठबन्धनभन्दा उहाँहरुले ठगबन्धन सुन्नुभो ।
मैले जोरपाटीभन्दा उहाँहरुले चोरपाटी सुन्नुभएछ ।
मैले भुटनदेवीको दर्शनार्थी भनेको,
उहाँहरुले भुटानी शरणार्थी सुन्नुभएछ ।
मैले झापाको टी स्टेट कसले खाएको भनेको,
उहाँहरुले बालकोट बा सुन्नुभएछ ।
कार्यक्रममा कलाकार सुरेन्द्र केसी, पल्पसा डंगोललगायतको उपस्थिति र प्रस्तुति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...