दुई व्यक्तिलाई कार्यकारी अधिकार दिँदा परिणाम आउँदैन : मन्त्री गुरूङ
काठमाडौँ, २८ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार सम्बद्ध संस्थाहरुमा दुई व्यक्तिलाई कार्यकारी भूमिका दिँदा परिणाम राम्रो नआएको औँल्याउनुभएको छ ।
सोमबार विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफलमा उहाँले आगामी दिनमा सञ्चारसँग सम्बन्धित कानुनहरु बनाउँदा दुई व्यक्तिलाई कार्यकारी जिम्मेवारी दिन नहुने राय राख्नुभयो ।
‘दुईजना प्रमुखहरु बनाउदा केही प्रगति भएन । आवश्यक परिणाम पनि आउन सक्दैँन । नेपाल टेलिभिजनमा पनि त्यस्तै देखिन्छ, कार्यकारी प्रमुख पनि रहेछ र महाप्रबन्धक पनि रहेछ । यस्तो हुँदा त्यहा प्रगति नै भएको छैन,’ उहाँले भन्नुभयो ।
एक जनालाई कार्यकारी भूमिका दिन सकियो भने खर्च पनि कम हुने उहाँको भनाइ थियो । ‘दुई व्यक्तिलाई प्रमुखको व्यवस्था गर्नु भनेको त्यहाभित्र दुविधा र द्वन्द्व निम्ताउनु मात्र हो । अधिकार बाँडफाँड भएको संस्थाले काम नै गर्दैन । नेतृत्व एउटै हुनुपर्छ । दुईवटा हुनु हुँदैन । हाम्रो कार्यकारी अध्यक्ष नै कार्यालय प्रमुख हो । त्यसका अरु कसैको आवश्यकता हुँदैन,’ उहाँले भन्नुभयो ।