दशरथ रंगशालाले फेरि पायो अन्तर्राष्ट्रिय मान्यता

24

काठमाडौँ, २४ साउन । राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघले अनुमति दिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको छ ।

विभिन्न प्रश्न उठाउँदै एफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भनेपछि गत चैत महिनादेखि परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।

यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअपअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाइज युनाइटेडबीच खेल हुने भएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैतमा प्रतिवेदन दिएपछि नेपालमा नै २०८० चैत ८ गते आयोजना हुनुपर्ने वर्ल्डकप फुटबलअन्तर्गत दोस्रो चरणको नेपाल र बहराइनबीचको क्वालिफाइङ खेल बहराइनमा भएको थियो भने जेठ २४ गते युएईसँगको खेल साउदीमा भएको थियो ।

लामो समयदेखि अखिल नेपाल फुटबल संघले संरक्षण गर्दै आएको खेल मैदानप्रति एएफसीले प्रश्न उठाएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८० चैतदेखि परिषद् आफैँले रंगशालाको खेलमैदान संरक्षण र ममर्तको जिम्मा लिने निर्णय गर्नुभएको थियो ।

मैदानले एसफसीबाट पुनः मान्यता पाएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली दर्शकले फेरि रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताउनुभयो । उहाँले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अब कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...