काठमाडौँ, २४ साउन । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
बिहीबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेसँगै सुरु भएको हो ।
तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले तेक्वान्दो सबैभन्दा अनुशासित खेल रहेको भन्दै नियम र कानुन तोडियो भनेर विवाद सिर्जना भएको सुन्नमा नआएको बताउनुभयो । उहाँले सरकारले एक महिनाभित्रमा सबै खेल क्षेत्रमा रहेका विवादको समाधान गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
उहाँले भन्नुभयो,‘तेक्वान्दो खेलकुद क्षेत्रको सबैभन्दा अनुसाशित खेल हो । यसमा नियम र कानुन तोडियो भने विवाद सिर्जना हुन्छ । त्यसैले कानुन तोडिएको छ भने तपाईंहरु ढुक्क हुनुहोस्, केही महिना कुर्नु पर्दैन । कम्तिमा एक महिनाभित्रमा यी कुराहरु समाधान हुनसक्छ । विवादहरु अब सरकारले चाँडै अन्त्य गर्छ ।’
प्रतियोगितामा तीनवटै विभागीय टिमलगायत सातवटा प्रदेशका महिला तेक्वान्दो खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगितामा ग्यरोगी (फाइट) र पुम्से (फर्म) विधा समावेश गरिएको छ । जसमा ४४५ जना खेलाडीहरूले सहभागिताका लागि नाम दर्ता गरेको संघले जनाएको छ । खेलाडीहरूले ५२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।