मन्त्री पाण्डेको निर्देशन– ‘भेटघाट र कार्यक्रम बन्द गरेर हवाई सुरक्षामा ध्यान दिऔँ’

68

काठमाडौँ, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करिब १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निष्कर्षसहित मन्त्रालयले हवाई सुरक्षाको विषयलाई उच्चतम् प्राथिमकतामा राख्दै तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको बताउनुभएको छ ।

बुधबार नुवाकोटको शिवपुरीमा हेलिकोप्टर दुर्घटना हुँदा एक नेपालीसहित पाँच जनाको मृत्यु भएपछि मन्त्री पाण्डेले एकसाताका लागि पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रमहरुलाई स्थागित तथा जरुरी बाहेकका भेटघाटलाई बन्द गरी हवाई सुरक्षाका विषयमा केन्द्रित गर्दै आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायहरुलाई परिचालन गर्ने बताउनुभयो ।

बुधबार साँझ मन्त्रीको सचिवालयका तर्फबाट प्रेस नोट जारी गर्दै हेलिकोप्टर दुर्घटनाको उद्धारमा अस्वभाविक ढिलाइ भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरण ९क्यान० लगायतका सम्बन्धित पदाधिकारीहरुसँग जानकारी लिनुभएको थियो ।

सो क्रममा प्राविधिक कारणले दुर्घटना एकिन गर्न केही समय लागेको र दुर्घटनास्थल पहिचान हुनासाथ प्रतिकुल मौसमका बाबजुत उद्धारका लागि प्रभु हेलिकोप्टर कम्पनीको हेलिकोप्टर पठाइएको सो हेलिकोप्टर फिर्ता हुन नसकी राति पनि सोही स्थानमा नै रहेको जानकारी गराउनुभएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनुभएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै मन्त्री पाण्डेले नेपाली उड्डयन क्षेत्रले भोग्नुपरेको असहजताको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्नुभएको छ ।

एयर डाइनेस्टीको ९एन–एजेडी कलसाइन हेलिकोप्टर बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो । दिउँसो १ बजेर ५४ मिनेटमा भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडान भरेको हेलिकोप्टर दिउँसो २ बजेर १४ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो ।

हेलिकोप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । दुर्घटनालगत्तै खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको थियो ।

सबैको शव संकलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत् जनाएको छ ।

दुर्घटनाको छानबिन गर्न आयोग पनि गठन गरिएको छ । मन्त्रिपरिषद्को सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...