गर्भावस्था अल्ट्रासाउन्ड कति जोखिमपूर्ण ?

16
  • प्रमिला कार्की

काठमाडौँ, २३ साउन । गर्भवती भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे जानकारीका लागि विभिन्न जाँच गरिन्छ । गर्भावस्थाको समयमा बच्चाको विकास सही तरिकाबाट भएको छ कि छैन भन्ने कुराको मूल्यांकन गर्नका लागि चिकित्सकहरुले समय–समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर्छन् ।

तर, केही कतिपयको मनमा अल्ट्रासाउन्ड गर्दा पेटमा भएको बच्चालाई केही असर गर्ने हो कि भन्ने डर पैदा भएको पनि पाइन्छ । यसै सन्दर्भमा रहेर नेपाल अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा ९एनआइएचएस०का रेडियोलोजिष्ट विष्णु सिग्देलले गर्भअवस्थामा अल्ट्रासाउन्डले पेटमा भएको बच्चा र आमालाई कुनै असर नगर्ने बताउनुभयो ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘अल्ट्रासाउन्ड हामीले जति पटक पनि गर्न सक्छौं । १०–१५ पटक पनि गर्न सक्छौँ । केही फरक पर्दैन । हाम्रो सोचाइ एक्सरेहरु जस्तै अल्ट्रासाउन्डले पनि कतै रेडियसन फाल्ने हो कि अथवा पेटमा भएको बच्चालाई पनि केही असर गर्ने हो कि भन्ने कुराले डर पैदा भएको पाइन्छ । कति बिरामीहरुमा त्यो डर मैले पनि देखेको छु । अल्ट्रासाउन्ड जति पटक गर्दा पनि केही फरक पर्दैन ।’

उहाँले तीन पटकसम्म गर्न पाइने डब्लुएचओले पुष्टि गरिसकेको र नेपालमा चाहिँ पूर्वगर्भ अवस्थाभर चार पटकसम्म गर्ने गरिएको बताउनुभयो। तर, आवश्यकताअनुसार आमा र बच्च दुवैको अवस्था हेरेर जतिपटक पनि गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

‘गर्भअवस्थामा एक्सरे चाहिँ सकेसम्म नगरेको नै ठिक हुन्छ, गर्नु पनि हुँदैन । तर, कहिलेकाहीँ यदि ज्यान खतरामा पर्‍यो भने, ठुलो दुर्घटनामा पर्‍यो भने र हेर्नै पर्ने त्यस्तो अप्ठ्यारो अवस्था आयो भने मात्र गर्नु राम्रो हुन्छ,’ सिग्देलले भन्नुभयो । तर, पनि सकेसम्म पहिलो तीन महिना चाहिँ नगर्न र त्यसपछि आवश्यकताअनुसार आमाको ज्यान नै खतरामा भयो भने ज्यान बचाउन गर्न एवम् नौं महिनासम्म एक्सरे नगर्दा नै उपयुक्त हुने उहाँको सुझाव छ । नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...