झापा, १७ साउन । प्रभु बैंकले बचतकर्ताको करोडौँ रकम गायब पार्ने गरेको पाइएको छ । प्रभु बैंकमा रकम बचत गर्ने बिर्तामोडका मञ्जुकुमारी नेपालको करोड बढी रकम गायब भएपछि बैंकले बचतकर्ताको रकम गायब पार्ने गरेको पाइएको हो ।
नेपालले गत माघ ३ गते प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ६ महिनाका लागि मुद्दति खातामा जम्मा गर्नुभएको थियो ।
मुद्दति खातामा रकम राखेको प्रमाण लिएर ढुक्क भइ नेपाल दम्पती छोरा–बुहारी भेट्न अमेरिका गएका थिए । करिब तीन महिना अमेरिकामा बिताएर हालसालै उनीहरू घर फर्किएपछि बैंकमा गएर रकम निकाल्न खोज्दा दुई लाख रुपैयाँ मात्र बचत रकम रहेको पाइएको थियो ।
६ महिनाका लागि राखेको रकमको समयावधि सकिएपछि मंगलबार नेपाल पैसा झिक्न बैंक पुग्नुभएको थियो । बैंकका कर्मचारीले जब सम्बन्धित व्यक्तिको नाम र खाता नम्बर मागेर कम्प्युटरमा ‘सर्च’ गरे, तब ६ महिनाअघि राखिएको रकम गायब थियो ।
‘पैसा लिन जाँदा सबै पैसा गायब थियो, पीडित मञ्जुका श्रीमान् पत्रकारसमेत रहेका टीकारामले भन्नुभयो,‘किन र कसरी त्यत्रो रकम गायब भयो रु यसको जवाफदेही बैंक हुनुपर्छ ।’
बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको बैंकको दाबी छ । सिटौला बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । बैंकका कर्मचारीकै मिलेमतोमा सिटौलाले रकम गायब पारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । टीकारामले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिनुभएको छ।
नेपालको मात्र होइन, बिर्तामोडका व्यवसायी प्रविण अग्रवालको पनि रकम त्यसरी गायब पारिएको पाइएको छ । अग्रवालले आफ्ना छोराको नाममा खाता खोलेर बचत गरेको रकम बैकले गायब पारेको आरोप लगाउनुभएको छ ।
‘मेरा दुईवटा छोराको नाममा एक लाख ३ हजारका दरले बिर्तामोडमा शाखा रहेको प्रभु बैंकमा मुद्दति खाता खोलेर बचत गरेको थिए, अग्रवालले भन्नुभयो,‘पछि बैंक आएर हेर्दा दुईवटै खातामा दुई सयभन्दा कम मौज्दात रहेको देखियो ।’ उहाँले २ लाख ६ हजार बचत गरेको भौचर आफूसँग सुरक्षित रहेको भन्दै रकम फिर्ताका लागि बैंकमा निवेदन दिएको बताउनुभयो ।
नेपालले बैंकको ठगी सार्वजनिक भएपछि ठगिएकाहरु पनि सम्पर्कमा आउन थालेको बताएका छन् । बैंकमा रकम छ भनेर ढुक्क भएर नबस्न उनले अरुलाई पनि सुझाव दिएका छन् ।
बैंकका बिर्तामोड शाखा प्रबन्धक गणेश बरालले घटनापछि बैंकको केन्द्रीय छानबिन टोली बिर्तामोड आउँदै गरेको जानकारी दिनुभयो । उहाँले छानबिनपछि यथार्थ थाहा हुने भन्दै उहाँले बचतकर्ताको रकम हराउन नहुने धारणा राख्नुभयो।
उहाँले बैंकका कर्मचारी सिटौलाले बदमासी गरेको हुनसक्ने आशंका गर्नुभयो । छानबिन समितिले बिहीबारदेखि नै काम सुरु गर्ने उहाँले बताउनुभयो । घटनापछि प्रभु बैंकमा रकम जम्मा गर्ने बचतकर्ता त्रसित बनेका छन् ।