काठमाडौँ, १७ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
बिहीबारदेखि काठमाडौँमा सुरू भएको काभा नेसन्स वुमन्स लिगको सम्बोधन गर्दै भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिने बताउनुभयो ।
खेलकुद मन्त्री चौधरीले भन्नुभयो, ’अब देशभरका विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो बुझाइ छ ।’ उहाँले यसका लागि आफू स्वास्थ्य र शिक्षा मन्त्रालयसँग पहल गरिरहेको समेत बताउनुभयो ।
यस्तै, उहाँले भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न बनाउन पहल गर्ने बताउनुभयो ।
‘मैले सुनेको छु, देशभरको भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न छैन । तर, यी सबै क्षेत्रमा खेलका लागि भौतिक संरचना हुनुपर्छ । म यसका लागि पहल गरिरहेको छु,’ उहाँले भन्नुभयो ।
भलिबल संघलाई यसमा सहकार्य र समन्वय गर्न पनि मन्त्री चौधरीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भलिबल राष्ट्रिय खेल भएकाले संघ, प्रदेश र स्थानीय तहमा भलिबल कोर्ट बनाउने, खेलाडी उत्पादन गर्नेबारे भलिबल संघका पदाधिकारीहरूसँग समन्वय गरिरहेको छु ।’