उपत्यकाका नदीमा जलसतह बढेपछि नदी करिडोरका बस्तीमा डुबानको जोखिम

78

काठमाडौँ, १६ साउन । काठमाडौँ उपत्यकामा गएरातिदेखि भइरहेको भारी वर्षाका कारण उपत्यकाका नदीहरुमा जलसतहले सतर्कता तह पुगेको छ ।

गएराति ११ बजेदेखि भइरहेको वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक निकारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।

ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ ।

जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ । उक्त क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।

भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारबाट यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।

काठमाडौँको धोबीखोला, चाबहित र बागमती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।

बागमती, गण्डकी र मधेस प्रदेशका धेरै जिल्लामा मध्यमदेखि भारी वर्षा मापन भएको विभागले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...