क्याप्टेन ओम गुरुङको अनुमान : इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन् [भिडिओ]

442

काठमाडौँ, १० साउन । क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गर्नुभएको छ । जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उहाँको अनुमान छ ।

बिहीबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले जहाजमा समस्या आउनेबित्तिकै क्याप्टेन शाक्यको माइन्ड अर्लट हुनुपर्ने बताउनुभयो । आगो लागेको जहाज डिल गर्दा कन्ट्रोलिङमा ध्यान दिएर मात्र गर्नुपर्ने उहाँले अनुभव सुनाउनुभयो ।

‘जहाज सी–चेकका लागि जाँदै थियो । चेक पनि ए, बी, सी लगायत हुन्छन् । यसको टाइम ड्युरेसन फरक फरक हुन्छ । तथापि, रनवेमा जहाजको गति र लाइन ठिक देखिन्छ । विभिन्न चेकलिस्टहरु हेर्दा सन्तुष्टि हुनुपर्ने देखिन्छ । टेकअफ पोइन्टसम्म पुग्दा पनि सबै ठिक भएको अनुमान लगाउन सकिन्छ । रोल गर्ने क्रममा भि–वान स्पिडलाई कन्ट्रोल गर्न सकिन्छ । त्यो निकै क्रिटिकल र महत्वपूर्ण मानिन्छ, यो अन्तिम निर्णयका रुपमा पनि हेरिन्छ । त्यसपछि अवस्थामा भने इन्जिनमा केही समस्या भएको हुनुपर्छ । इन्जिनमा फेल भएको वा आगलागी सुरु भएको हुनुपर्छ । यस्तो अवस्थामा क्याप्टेनले दिमागलाई अर्लट गर्न सक्नुभएन कि भन्ने लाग्छ ।’

भि–वानसम्मको अवस्थामा क्याप्टेन शाक्यको निर्णय ठिक रहेको उहाँले अनुमान लगाउनुभयो । हरेक स्टेजमा क्याप्टेनको निर्णय ठिक देखिए पनि कन्ट्रोलमा समस्या आएको हुनसक्ने उहाँले बताउनुभयो ।

घटनाको यात्रु को को थिए भन्नेबारे सम्बन्धित निकायलाई जानकारी हुने भन्दै क्याप्टेन गुरुङले सबै यथार्थ क्याप्टेन शाक्यलाई थाहा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो घटना एउटा विकराल भयो । हिजोको घटनाको परिवेशमा क्रिटिकल सबै थाहा भएन । किनभने विगतका कयौँ दुर्घटनाहरुमा हामीले बोलेका पनि छौँ । तर, सबै सत्य सावित नहुन सक्छन् । इन्जिनको कुरा सबै आफ्नो कन्ट्रोलमा हुँदैन । यस बारेमा क्याप्टेन शाक्य जीवित हुनुहुन्छ । उहाँले सबै कुरा बताउनुहुनेछ ।’

ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै उहाँले क्याप्टेन शाक्यको स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै यस्तो विषयमा आफूले धेरै बोल्न नहुने उल्लेख गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...