काठमाडौँ, ३१ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उहाँले स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता कायम गर्ने गरी उपचार प्रणाली विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । उपचार सेवा प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु ल्याउने पनि उहाँले घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो,‘क्यान्सर रोगबाट धेरै नागरिकहरु पीडित भएको स्थिति छ । रोग लागेकाहरुलाई सुविधा दिने कुरा आफैँमा जरुरी हो । त्योसँगसँगै रोग लाग्न नदिनु अर्को जरुरी कुरा हो । क्यान्सर रोगको उपचारका लागि एकरुपता कायम गर्ने गरी हामीले त्यसको प्रणाली विकास गर्ने छौँ । र उपचार सेवा प्रदान गर्नका लागि हामीले विशेष कार्यक्रमहरु ल्याउने छौँ । ’
उहाँले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने पनि प्रविद्धता जनाउनुभयो । आफ्नो कार्यकाल मितव्ययी बनाउने उहाँले खादामाला भने ग्रहण गर्नुभएन ।
सो अवसरमा स्वास्थ्य सचिव रोशन पोखरेल म्याटरलाई बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागु गर्न पाए मन्त्रालयले प्रगति गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो । आगामी दिनमा देखिने गरेर परिवर्तनको अनुभूति मन्त्रालयले चाहेको र टिमवर्कबाट अघि बढ्नआफू तयार रहेको पनि बताउनुभयो ।