काठमाडौँ, १६ असार । आइसिसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । गएराति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो ।
भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो ।
उसका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । क्लासेनले २७ बलमा ५२ रन बनाए । त्यस्तै, क्विन्टन डे ककले ३९ रन र ट्रिस्टन स्टब्सले ३१ रनको योगदान दिए ।
भारतका लागि हार्दिक पाण्ड्यले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले दुई/दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट झारे ।
यसअघि केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । त्यस्तै, अक्षर पटेलले ४७, र शिवम् दुवेले २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे ।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुई/दुई विकेट लिए । त्यस्तै, कागिसो रवाडा र मार्को जेन्सेनले एक÷एक विकेट लिए ।
रोहित र विराटद्वारा अन्तर्राष्ट्रिय टी–२० बाट सन्यस
भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् ।
भारतलाई १७ वर्ष पछि टी–२० विश्वकपको उपाधि दिलाएका कप्तान रोहितले सन्यासको घोषणा गरेका हुन् । त्यसअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए ।
भारतीय कप्तान रोहित शर्माले खेलपछिको प्रस्तुति कार्यक्रममा आफ्नो सन्यासको बारेमा केही भनेनन् । तर, खेलपछि पत्रकार सम्मेलनमा रोहितले सन्यासको घोषणा गरेका थिए ।
विराट कोहलीले जस्तै उनले पनि यो टीम इण्डियाका लागि उनको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल भएको बताए । अर्थात् अब उनले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिनेछन् । तर, रोहित र विराट दुवैले एकदिवसीय र टेस्टमा भारतका लागि खेल्ने छन् ।
पत्रकार सम्मेलनमा रोहित शर्माले विराट कोहलीको टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएको प्रश्नमा भने, ‘यो मेरो पनि अन्तिम टी–२० अन्तर्राष्ट्रिय पनि थियो । यो ढाँचालाई अलबिदा भन्नको लागि यो राम्रो समय हो । यो मैले चाहेको थियो, मलाई कप चाहिएको थियो र मैले यो पाएँ । यसबाहेक रोहितले यो ट्रफी राहुल द्रविडलाई समर्पण गरेको बताए ।
रोहित शर्मा हाल सबै टी २० विश्वकप खेल्ने एकमात्र भारतीय खेलाडी हुन् । उनी २००७ को टी–२० विश्वकपको टोलीमा थिए । त्यसपछि अब २०२४ मा उनको कप्तानीमा टोलीले यो प्रतियोगिता जितेको हो ।
रोहित शर्माले आफ्नो करियरमा कुल १५९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ४२३१ रन बनाएका छन् । यो फर्म्याटमा उनको नाममा सर्वाधिक ५ शतकको कीर्तिमान पनि छ ।
रोहितले टी–२० अन्तर्राष्ट्रियमा कुल ३२ अर्धशतक पनि बनाएका छन् । अब उनले यही ऐतिहासिक कीर्तिमानसँगै आफ्नो यात्रा अन्त्य गर्ने निर्णय गरेका छन् ।