अर्जेन्टिना कोपाको क्वाटरफाइनलमा

25

काठमाडौँ, १२ असार । कोपा अमेरिकामा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह एमा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भएको हो ।

अमेरिकाको न्यु जर्सीमा आज भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि १–० को कठिन जित निकाल्न सफल भयो । ६० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको अर्जेन्टिनाले गोलका लागि भने निकै संघर्ष गर्नुपरेको थियो ।

अर्जेन्टिनाका लागि ८८औँ मिनेटमा लाउटारो मार्टिनेजले सेन्टरबाट आएको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै तालिकामा ३ अंक थप्न सफल भयो ।

यही समूहमा रहेको क्यानडाले पेरुलाई पनि १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै पहिलो ३ अंक जोडेको क्यानडा ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा जित निकालेपछि क्वाटरफाइनलको सम्भावना यद्यपि कायमै राखेको छ । पेरुले क्यानडालाई दबाबमा राखे पनि ५९ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । पेरुका मिगुएल अराउजोले फल गरेपछि भिडिओ एसिस्टेन्ट रेफ्री (भार)को सहायतामा रातो कार्ड देखाइएको थियो । त्यसपछि भने पेरु दबाबमा आउँदा त्यसको फाइदा क्यानडाले लिन पुग्यो ।

क्यानडाका जोनाथन डेभिडले ७४औँ मिनेटमा ज्याकब सेफलबर्गको पासमा गोल गरेका थिए । सोही गोल नै क्यानडालाई स्पष्ट ३ अंक दिलाउन पर्याप्त भयो ।

Share This:
सम्बन्धित खबर
Loading...