काठमाडौँ, ९ असार । टी–२० विश्वकपको सुपर-८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनको पराजित गरेको छ । योसँगै अफगानिस्तानले सेमिफाइनल खेल्ने सम्भावनालाई कायम राखेको छ ।
अष्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १४९ रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको अष्ट्रेलियाले १९.२ ओभरमा १२७ रन जोडेर अल आउट भयो ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले यो सिजनकै उम्दा पारी पारी खेले । ४१ बलको सामना गरेका उनले ६ चौका र ३ छक्काको मद्धतमा ५९ रन बनाए । कप्तान मिचेल मार्शले १२, मार्कस स्टोइनिसले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानस्तानका गुलाबुद्दिन नाबीले सर्वाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिए । यस्तै, अजमतुल्लाह उमरजई, मोहम्मद नाबी, राशिद खानले समान एक–एक विकेट आफ्नो नाम गराए ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । राम्रो सुरुवात गरेको अफगानस्तानका लागि ४९ बल खेलेका गुरबाजले ४ चौका र ४ छक्काको मद्धतमा ६० रनको पारी खेलेका थिए । यस्तै, इब्राहिम जद्रानले ५१ रन, करिम जन्नतले १३, मोहमद नबीले अविजित १० रन बनाए ।
अष्ट्रेलियाको लागि प्याट कमिन्सले जारी विश्वकपमा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे । उनले राशिद खान, करिम जन्नत र गुलाबुद्दिन नबीको विकेट लिए ।
यस्तै, एडम जाम्पाले एकै ओभरमा दुई विकेट लिए । उनले १६.३ ओभरमा अजमतुल्लाह उमरजाई र १६.६ ओभरमा इब्राहिम जद्रानलाई आउट गराए । मार्कस स्टोइनिसको नाम एक विकेट रह्यो ।