पश्चिम बंगालमा दुई रेल आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु

10

काठमाडौँ, ३ असार । पश्चिम बंगालमा सोमबार मालबाहक रेलले यात्रुबाहक कञ्चनजंगा एक्सप्रेस रेललाई ठक्कर दिँदा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी २० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

सोमबार बिहान भएको दुर्घटनामा पाँच यात्रुको मृत्यु भएको र २०–२५ जना घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको दार्जिलिङका प्रहरी एसपी अभिषेक रोयलले जानकारी दिएका छन् ।

दुर्घटना सोमबार स्थानीय समय अनुसार बिहान करिब ८ः४५ बजे नयाँ जलपाइगुडी जक्सन अगाडि कटिहार रेलवे डिभिजनको रंगपानी क्षेत्रमा भएको हो । कञ्चनजंघा एक्सप्रेस आसामको सिलचरदेखि सियालदहसम्म चल्ने गर्दछ ।

उक्त रेल कोलकाता सियालदह जाँदै थियो । रेललाई बंगालको नयाँ जलपाइगुडी नजिकै रहेको रंगपानी स्टेसनको नजिक एउटा मालबाहक रेलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यम एएनआइले जनाएको छ ।

केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले उद्धार कार्य भइरहेको बताएका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट उनी स्तब्ध भएको बताएकी छन् । रेलवे स्रोतका अनुसार माल कन्टेनर रेलले सिग्नललाई ओभरसट गरी कञ्चनजंघा एक्सप्रेसको पछाडिको पार्सल कोचमा ठक्कर दिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...