वाइवाईले ल्यायो क्रिकेट स्पेसल प्याकेट

22

काठमाडौँ, २८ जेठ । टी–२० क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप सिजी फुड्स नेपाल लिमिटेडले ‘वाइवाई क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सिजीले नेपाल दोस्रो पटक आइसिसी पुरुष टी–२० विश्वकपमा सहभागी हुन सफल भएकोमा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन गर्नका लागि उक्त प्याकेट बजारमा ल्याएको जानकारी दिइयो ।

टी २० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइवाईको नयाँ प्याकेट विशेष हुने अपेक्षासहित नयाँ प्याकेट बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्का र सिजी फुड्सका सिइओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर पनि गरेका छन् ।

सोही क्रममा क्यानका सचिव खड्काले प्राप्त रकमलाई क्रिकेटकै कामका लागि प्रयोग गर्ने भनेर बोर्डबाट नै घोषणा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जति पनि रकम प्राप्त हुन्छ त्यसलाई क्रिकेटकै कामको लागि प्रयोग गर्ने भनेर बोर्डबाट नै घोषणा गर्नेछौँ । वाइवाईले घोषणा गरेको रकम सम्पूर्ण नेपाली क्रिकेट टिममा नै आउनेछ । टिमको हौसला बढाउनुपर्छ भनेर पनि सम्झौता गरिएको हो ।’

साथै उहाँले क्रिकेटलाई सुधार गर्नको लागि क्यान निरन्तर लागि रहेको पनि बताउनुभयो । विगत लामो समयदेखि पुरुष यू–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाईले महिला यू–१९ टिमलाई समेत प्रायोजन वापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी जम्मा ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने जनाइएको छ ।

यसअघि वाइवाईले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८ मा पुग्न सफल भएमा ३० लाख तथा मनोवल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत १ हजार, प्रत्येक चौका बापत ८ हजार, प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत एक लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...