काठमाडौँ, २७ जेठ । आइसिसी टी–२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२औँ ओभरमा अलआउट भयो । खराब सुरुवात गरेको युगान्डा ३९ रनमै समेटिएको हो ।
समूह सीमा रेहका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० खेल भएको हो ।
युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाए । उनीबाहेक अन्य ब्याटरले दोहोर अंक जोड्न सकेनन् ।
युगान्डालाई सस्तैमा रोक्न वेष्टइन्डिजका अकिल हुसैनले सर्वाधिक ५ विकेट लिए । हुसेनले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिँदा अल्जारी जोसेफले ३ ओभरमा ६ रन दिएर २ विकेट हात पारे ।
यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक-एक विकेट लिए ।
गुयनास्थित प्रोभिडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोन्सन चाल्सले सर्वाधिक ४४ रन, रोभमन पावलले २३ रन, निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए । यस्तै, आन्द्रे रसेल ३० रनमा नटआउट पारी खेले ।
युगान्डाका बसिन मासाबाले २ विकेट लिए ।
दुई पटकको विश्व विजेता वेस्ट इन्डिज लगातार दोस्रो जितपछि समूह सीमा ४ अंक बनाएर दोस्रो स्थानमा छ । शीर्ष स्थानमा समान अंकका साथ अफगानिस्तान रहेको छ । अफगानिस्तान रनरेटका आधारमा अगाडि रहेको छ ।
यसैगरी युगान्डा २ अंकका साथ तेस्रो स्थानमा रहँदा पपुवा न्युगिनी र न्युजिल्यान्डले तालिकामा अंकको खाता खोल्न सकेका छैनन् ।