टी–२० विश्वकप : नेपाल नेदरल्यान्ड्ससँग पराजित

44

काठमाडौँ, २३ जेठ । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो ।

डालसको ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । स्पिनर टिम प्रिन्गल र लोगान भान बेकको उत्कृष्ट बलिङका कारण नेपाल ४ बल बाँकी हुँदै १०६ रनमा अलआउट भएको थियो ।

जवाफमा म्याक्स ओ’डाउडको नटआउट अर्धशतकको मद्धतले नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । प्रिन्गल प्लेयर अफ दि म्याच घोषित भए । यो जितसँगै नेदरल्यान्ड्स समूह ‘डी’ मा दक्षिण अफ्रिकापछि दोस्रो स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाको समान दुई–दुई अंक छ ।

नेपालको पारी
नेदरल्यान्ड्सले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । चार ओभरमा नेपालको ओपनिङ जोडी कुशल भुर्तेल (७), आसिफ शेख (४) टिम प्रिन्गल र भोन बेकले आउट गरे । पावरप्लेमा नेपालले दुई विकेट गुमाएर २९ रन मात्र जोडेको थियो । अनिल साह (११)ले दुई चौका प्रहार गरे पनि प्रिन्गलले उनलाई पनि आउट गरे । नेपालले ९.१ ओभरमा ५० रन पूरा गरेको थियो । कप्तान रोहित पौडेल एक छेउमा टिकेका थिए । भान मिकरेनले १०औँ ओभरमा कुशल मल्ल (९)लाई पनि आउट गरे ।

त्यसपछि दिपेन्द्र सिंह ऐरीलाई बास डी लिडेले सजिलै पभेलियन पठाए । उनले १ रन बनाउन सके । सोही क्रममा मीकरणले सोमपाल कामी (०) र लिडेले करण केसी (१७)लाई आउट गरे । प्रिन्गलले कप्तान रोहित पौडेललाई तेस्रो शिकार बनाए । रोहित नेपाली टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ३७ बलमा ३५ रनको इनिङ खेले । सोही क्रममा भान बेकले अभिनाश बोहरा (०)लाई आउट गर्दै नेपालको इनिङ्स १९.२ ओभरमा १०६ रनमा समेट्यो ।

नेदरल्यान्ड्सको पारी
१०७ रनको लक्ष्य पछ्याउन आएको नेदरल्यान्ड्सको टोलीको सुरुवात राम्रो हुन सकेन । माइकल लेभिट एक रन बनाएर आउट भए । त्यसपछि म्याक्स ओडाउड र विक्रमजीत सिंहले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । विक्रमजीत २२ रन बनाएर आउट भए । साइब्रान्ड एन्जेलब्रेच १४ रन बनाएर आउट भए भने कप्तान स्कट एडवर्ड्स ५ रन बनाएर आउट भए । अन्त्यमा, म्याक्स ओडाउड र बास डी लीडे नटआउट रहँदै नेदरल्यान्ड्सको टोलीलाई जित दिलाए । म्याक्सले ४८ बलमा चार चौका र एक छक्काको मद्धतमा ५४ रन बनाए भने डी लिडेले १० बलमा ११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह र अभिनाशले समान १–१ विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...