काठमाडौँ, २१ जेठ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा ओमान र नामिबियाबीचको खेलको नतिजा सुपर ओभरबाट निकालिएको छ । सुपर ओभरमा नामिबियाले जित दर्ता गरेको हो । त्यसअघि निर्धारित २० ओभरमा दुवै टोलीले समान १०९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ओभरको २ बल बाँकी रहँदा सबै विकेट गुमाएर १०९ रनमा रोकिन पुग्यो । ओमानको सुरुवात भने निकै खराब रहेको थियो । दुई खेलाडी खाता नै नखोलेर गोल्डेन डक आउट भएका थिए ।
पहिलो बलमै कश्यप प्रजापति र दोस्रो बलमा कप्तान अकिब इलियास आउट भएका थिए । त्यसपछि १० रन हुँदा तेस्रो विकेटको रुपमा नसिम खुसी आउट भए । उनी ६ रन बनाएर आउट भएका थिए । जिसन मक्सुद र खलिद काली पारि अघि बढाए । खलिदले ३४ रनको पारि खेल्दा मक्सुदले २२ रन जोडे । यसैगरी शकिल अहमदले ११ रन जोडे ।
नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिँदा डेभिव वेसले ३ विकेट हात पारे । यस्तै जेरार्ड एरामसले २ तथा ब्रेनान्ड स्कोल्ट्जले एक विकेट लिए ।
१०ं१ रनको लक्ष्यसहित मैदान उत्रिएको नामिबियाको पनि सुरुवात खास रहेन् । टिमले खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । मिचेल भान लिंगेन आउट भएका थिए ।
निकोलस डेभिन र जान फ्रांकलिङले गतिलो साझेदारी गरे पनि त्यसपछि लगातार विकेट पतन हुँदा सामान्य लक्ष्य पनि पूरा भएन र खेल बराबरीमा पुग्यो । निकोलस डाभिनले २४ रन बनाउँदा जान फ्रांकलिनले ४५ रन जोडे । यसैगरी जेरार्ड एरामस १३ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानका मेहरन खानले तीन विकेट लिए । खेल बराबरीपछि सुपर ओभरमा नामेबियाले पहिला ब्याटिङ गर्दै स्कोरबोर्डमा २१ रन बनायो । नामिबियाका कप्तान जेरार्ड एरामस र डेभिड वाइस क्रिजमा आएका थिए ।
उनीहरुविरुद्ध ओमानका विलाल खानले बलिङ गरे । पहिलो बलमा चौका र दोस्रो बलमा वाइसले छक्का प्रहार गरेका थिए भने तेस्रो बलमा २ रन जोडे । चौथो बलमा एक रन आएपछि क्रिजमा आएका एरामसले लगातार दुई चौका प्रहार गरेपछि स्कोर बोर्डमा २१ रन बनेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको ओमानका लागि जिसन मक्सुद र नसिम खुसी आएका थिए । बलिङका लागि नामेवियाका वाइज आएका थिए । पहिलो बलमा निसमले २ रन लिए भने दोस्रो बल डट खेले । तेस्रो बलमा नसिम खुसी २ रन बनाएर आउट भए । चौथो बलमा अकिल इलियसले एक रन लिँदा पाँचौँ बलमा मक्सुदले एक रनमात्रै लिए । अन्तिम बलमा मक्सुदले छक्का प्रहार गरे पनि जित निकाल्न पर्याप्त भएन ।