बच्चाहरुमा रक्सी, गाँजा, चुरोट जस्तै मोबाइलको लत बढ्दो छ : डा.प्रदीप पाण्डे [भिडिओ]

19

पछिल्लो समय इन्टरनेट र प्रविधिको विकाससँगै बालबालिकाहरु मोबाइल प्रयोगमा अभ्यस्त हुँदै गएका छन् । अभिभावकहरुले सावधानी अपनाउन नसक्दा अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक गतिविधि र पढाइमा भन्दा पनि बच्चाहरुमा स्क्रिन टाइम बढिरहेको पाइन्छ । जसका कारण डिप्रेसन र एनजाइटीका समस्याहरु देखिने गरेको अध्ययनले समेत प्रमाणित गरिसकेको छ । यसै सन्दर्भमा ललितपुरस्थित अल्का अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डा.प्रदीप पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले लागू गरेको मापदण्डमा दुई वर्षसम्मको बच्चाहरुका लागि स्क्रिन टाइम छुट्याएको छैन । तीनदेखि चारवर्षसम्मका बच्चाहरुका लागि बढिमा एक घन्टा समय तोकेको छ । तर, आजभोलि त्यो लागु भएको देखिँदैन, के कारण होला ?
समय एकदमै परिवर्तनशील । हामी टेक्नोलोजीमा एकदमै अग्रसर छौँ । टेक्नोलोजीको युगमा स्मार्ट फोन, टेलिभिजनहरु आए, ल्यापटपहरु आए । यि वस्तुहरु विश्वमा आएसँगै नेपाली समाजमा पनि आयो । नेपाली समाजमा यो टेक्नोलोजी एउटा यस्तो हतियारको रुपमा आयो कि यसलाई के गर्ने ? खाने कि, ओकल्ने भन्नेमा छ । यसलाई प्रयोग मात्र गरिरहने कि भन्नेमा नेपाली समाज पूरै अन्योलमा छ । कतै राम्रो सदुपयोग भइरहेको छ । कहीं सदुपयोग हुनुपर्ने ठाउँमा बढि दुरुपयोग भइरहेका कारण यसको असरहरु प्रशस्तै मात्रामा देखिरहेका छन् ।

बच्चाहरुले स्क्रिनमा टाइम धेरै दिँदैगर्दा उनीहरुको भौतिक तथा मानसिक रुपमा कस्तो असर पर्दछ ?
यसका धेरै लक्ष्यणहरु छन् । मोबाइलमा लामो समयसम्म वा स्क्रिनमा समय दिँदै गर्दा सबैभन्दा पहिलो लक्षण भनेको थकानको महसुस हुनु हो । परिवारले सबै सुविधाहरु दिँदादिँदै पनि बच्चा खुसी नदेखिनु हो । पढाइमा ध्यान नजाने, अनिन्द्राको समस्या देखिनु हो । हामीले थाहा नहुनेगरी बच्चाको रचनाच्मक क्रियाकलाप र अतिरिक्त सोचमा पनि विकास भएको देखिँदैन । बाहिर केही नदेखिएपनि अतिरिक्त र रचनात्मक क्रियाकलापमा विस्तारै ह्रास हुँदै जान्छ । दिमागको प्रयोग नहुने समस्या देखिन्छ । बच्चाको मेमोरी क्षमता कम हुनु भनेको मोबाइलकै कारणले हो । उनीहरुले केही सम्झनै नपरेपछि दिमागले मेहनत नगरेपछि, दिमाग कमजोर हुँदै जान्छ । दिमाग कमजोर हुँदै जान्छ । दिमाग पनि शरीरको मसाज जस्तै हो । जसले मसाजको काम गर्छ उसको हातखुट्टा बलियो हुन्छ । आजभोलिका बच्चाले दिमागको प्रयोग नै गर्दैनन् । केही चाहियो भने गुगलमा खोज्छन् । बच्चाको आँखा रातो हुने, थकान महसुस गर्ने क्रियाकलापहरु देखिन्छ । उनीहरु मेहनत गर्न चाँहदैनन् । केही गरौँ भन्ने हिम्मत गर्दैनन् । घरमा बसेर एक घन्टा पढ्ने क्षमता राख्दैनन् । बच्चाहरुमा छटपटीपना देखिन्छ । डिप्रेसन र एन्जाइटीको संकेत पनि देखिनसक्छ ।

यसरी बच्चाहरुमा स्क्रिन टाइम बढिरहेको बेलामा हजुरको विचारमा बच्चाहरुमा स्मार्टफोन र इन्टरनेटको प्रयोग ठप्प नै पार्नुपर्छ भन्ने हो ? या प्रयोग गर्न दिनुपर्छ तर व्यवस्थापन गरेर भन्ने हो ?
म एक जनाले भनेर यो इन्टरनेटको दुनियाँमा टेक्नोलोजी ठप्प हुनेवाला छैन् । इन्टरनेट टेक्नोलोजी यति तीव्र गतिमा छ कि कसैको तागतले यसलाई रोक्न सक्दैन् । पहिला हामीले यो स्वीकार्नुपर्छ कि हामी २१औँ शताब्दीमा टेक्नोलोजीको युगमा छौँ । मान्छेहरु टेक्नोलोजीको प्रयोग गरेर अर्ब–खर्बपति बन्दैछन् । बच्चाहरुलाई टेक्नोलोजीको प्रयोग गर्न नदिने, इन्टरनेट छुनै नदिने भन्ने हुँदैन । सबैभन्दा पहिले त हामीले आफुले आफैँलाई प्रतिप्रश्न गर्न सक्नुपर्छ । के हामीले त्यो गर्न सक्छौँ ? त्यो गर्नु जायज छ ? तर के चाहिँ हो भने टेक्नोलोजीको सही सदुपयोग गरिएन भने डिप्रेसन, एन्जाइटी मात्र होइन् बलात्कारको घट्नाहरु हुने, मानसिक तनाव हुने, विभिन्न हिंसामा पर्ने घट्नाहरु हुनसक्छन् । त्यसैले यि चिजहरुमा सन्तुलन कसरी गर्ने भन्ने कुरा प्रमुख हो ।

इन्टरनेटले हामीलाई संसारका सम्पूर्ण कुराहरु एउटा कोठाभित्र ल्याएर राखिदिएको छ । साँच्चिकै राम्रो कुरा सिक्नुछ भने इन्टरनेट भए भयो । हामी संसार नै घरमा बसेर पढ्न सक्छौँ । इन्टरनेटबाट सिक्ने हजारौँ कुराहरु छन् । तर, यो चक्कु जस्तो हो । त्यसले राम्रोसँग काट्न सके मिठो परिकार बनाउन सकिन्छ । जानिएन भने हात काट्छ । त्यसैले चक्कुको प्रयोग तपाईले कसरी गर्नुहुन्छ ? बच्चालाई चक्कु हातमा दिँदैगर्दा बच्चाले सही सदुपयोग गर्न सकेनन् भने हात काट्नसक्छ । हतियार त दिनुभयो तर हतियारको प्रयोग गर्न बच्चालाई कसरी सिकाउनुहुन्छ ? हतियार मात्र दिइरहनुभएको छ अथवा त्यसको सदुपयोग गर्न पनि सिकाइरहनुभएको छ, त्यस विषयमा मुख्य रुपमा ध्यान दिनुपर्छ । घरमा आफूलाई फुर्सद भएन भने बच्चालाई फोन दिएर टारिदिने, जे हेर्छ हेरोस भनिरहनुभएको छ कि । स्क्रिन टाइम कति दिनुभएको छ त्यसमा विशेष ख्याल गर्नुपर्छ । अर्कोकुरा बच्चाले स्क्रिनमा के विषयबस्तु हेरिरहेको छ त्यो अर्को महत्वपूर्ण प्रश्न हो । रोक्न खोज्नु चाहिँ मुर्खता हो । रोक्दा बच्चाको दिमागमा कस्तो असर गरिरहेको छ त्यसमा विचार गरिएन भने चाहिँ बच्चा र युवाहरुलाई हतियारबाट बचाउन सक्दैनौँ ।

स्मार्टफोन र ग्याजेटहरुको प्रयोग बढेसँगै सामाजिक सञ्जालहरुको प्रयोग अधिक बढेको छ । कतिपय अविभावकहरुले लाइक र भ्यूजका लागि बच्चाहरुलाई प्रयोग गरिएको देखिन्छ । जबकी बच्चाहरुले के सहि के गलतसम्म छुट्याउन सकेको हुँदैन । यसरी बच्चालाई प्रयोग गर्दा कस्तो असर पर्न जान्छ ?
सामाजिक सञ्जालको प्रयोग हाम्रो समाजमा अत्याधिक बढिरहेको छ । यसको फाइदा र बेफाइदा आफ्नो ठाउँमा छ । यसबारेमा विश्वमा बहस चलिरहेको छ । बच्चाका सम्पूर्ण सूचनाहरु फेसबुकमा राख्नु वा सामाजिक सञ्जालमा राख्नुले बच्चालाई धेरै ठुलो समस्याहरु निम्त्याउँछ । १४–१५ वर्षको बच्चालाई समाजिक सञ्जालमा राख्दा व्यक्तिगत सूचनाहरु पनि बाहिर जान्छ । र समाजमा भएका राम्रा र नराम्रा कुराहरु मानिसहरुसम्म पुग्छ । जसका कारण छोरी मानिसलाई नराम्रो गर्न चाहने मानिसहरुलाई सहज हुनजान्छ । बच्चाहरुलाई भाइरल हुने रहर जाग्छ र त्यो रहरले गर्दा उनीहरुको भविष्यमा समस्या आउनसक्छ ।

१६ वर्षदेखि २४ वर्षसम्मको मानिससँग सम्बन्ध विस्तार हुँदा के गरिरहेको छु भन्ने आइडिया समेत बच्चाहरुले पाउन सक्दैनन् । बच्चाले कस्तो खालको क्रियाकलाप गरिरहेको छ, उसले गरेको निर्णयले उसलाई कति फाइदा हुन्छ र कति बेफाइदा हुन्छ भन्ने कुरामा जानकार नहुन सक्छन् । भविष्यमा आउने समस्याका बारेमा बच्चा अनविज्ञ छन् । उसका रहर, चाहना र आवश्यक्ता पुर्तिका कारण अन्य हजारौँ बच्चाहरु प्रभावित हुनसक्छन् । सामाजिक सञ्जालमा एक जनाको क्रियाकलाप देखेर अर्को मोहित हुन्छ र अर्कोले प्रतिस्पर्धा गर्न थाल्छ । टिकटक र अन्य मिडियाको प्रयोग गरेर पैसा कमाए भन्दैमा भाइरल बन्नका लागि जुनसुकै क्रियाकलापहरु पनि अपनाउने या जस्तासुकै कपडाहरु लगाएर पपुलर हुँदै जान खोज्दा हाम्रो संस्कार र संस्कृतिमा समेत असर पर्नजान्छ ।

स्मार्ट फोन र ग्याजेटहरुमा बच्चाहरु व्यस्त हुँदैगर्दा अभिभावक आफन्तहरुसँग कम अन्तरक्रिया गर्ने गर्दछ्न् । यसले उनीहरुको समग्र सामाजिक विकासमा कस्तो असर पार्छ जस्तो लाग्छ ?
सबैभन्दा पहिला त कोठाभित्रै बस्ने व्यक्तिलाई भविश्यमा के समस्या आउँछ, उसले आफ्नो मनमा लागेको कुरा, खुसी वा दुःखका पल साट्ने कुनै व्यक्ति भेट्दैन । भर्चुअल रुपमा उसले टाइप गरिराखेको हुन्छ । तर भर्चुअल साथीलाई भन्नु र रियल मानिसलाई गएर भन्नु फरक हुन्छ । एउटा मानिस भावनात्मक रुपमा अन्य मानिसहरुसँग नजिक भयो भनेमात्र सहज महसुस गर्छ ।

पिएचडी गरेको मानिस घरमा थन्किएर बसेको हुन्छ, एसइइ गरेको मानिसले पीएचडी गरेका सयौँ व्यक्तिको नेतृत्व गरेर बस्नसक्छ । किनकी उसले जीवन पढ्नसक्छ । व्यक्ति पढ्नसक्छ । तर, अबको पुस्ताका बच्चाहरु चाहे तिनीहरु मोबाइल र टेक्नोलोजिको प्रयोग गरेर कोठाभित्र बसेभने त्यो राम्रो काम गरेपनि नराम्रो गरेपनि भविष्यमा उनीहरुलाई समस्या हुनेछ । टेक्नोलोजीसँग २४ घन्टा नै व्यस्त हुँदा समाजबाट ऊ टाढा हुन्छ । रचना, सिर्जना र गुणस्तर घट्दै जान्छ ।

अबको १० वर्ष पछाडि आठदेखि १० घन्टा चाहे राम्रो या नराम्रो कुराको लागि स्क्रिन टाइम प्रयोग गर्नुहोस् यसले हाम्रो दिमागमा के कस्तो प्रभाव पार्छ त्यो अनुसन्धानमा आउनेवाला छ । तर, मलाई लाग्छ, उनीहरु पछि गएर डिप्रेसन, एन्जाइटीमा जान्छन् । अनिन्द्राको शिकार हुन्छन् । उनीहरुको सोच्ने क्षमतामा पनि प्रभाव पर्छ र समाजमा गएर कुरा गर्ने, घुलमिल हुने, नेतृत्व स्थापना गर्ने, नयाँ कुराहरुको विकास गर्नेलगायत व्यक्तित्व विकासमा असर गर्छ ।

जतिबेला आफ्नो अस्तित्व समाजको अगाडि गएर प्रस्तुत गर्नुपर्ने हुन्छ त्यतिबेला त्यो तहमा प्रस्तुत गर्न सक्दैनन् । जुन तहमा उनीहरुसँग त्यो खुबी र क्षमता हुन्छ । त्यस कारणले गर्दा कोठाभित्र बसेर कसैले मोबाइल चलाइरहेको छ भने बाँकी समय सकेसम्म धेरैभन्दा धेरै मानिससँग कुरा गर्ने वातावरण बनाउन पर्दछ । अघिल्लो पुस्ताका मानिसहरुमा डर, अनिन्द्राको समस्या छैन । किनभने त्यो समयमा अहिलेको जस्तो प्रविधिको विकास भइसकेको थिएन । सबैजना प्रकृतिमा रमाउने, खेतमा काम गर्ने गर्थे । साइकोलोजीको अवस्था अहिले जस्तो थिएन ।

जति जति समाज र प्रविधिको विकास हुँदैगयो, हामी एक्लो हुँदै गयौँ । हामी अनलाइनमा एकै पटक दुईसय जनासँग बोल्न सक्छौँ तर आफ्नो मनको कुरा कसैसँग पनि खुलेर भन्न सक्दैनौँ । यो आजको समाजको वास्तविकता हो ।

हामी कस्तो समाजको संरचना गर्दैछौँ ? कस्तो देश बनाउँदै छौँ ? अहिलेको युवाहरुले यस्तै खालको कमजोर मानसिकताबाट देश र समाजलाई कहाँ लैजाला, हामीले अब आउने युवाहरुलाई हेर्ने हो । उनीहरुबाट हाम्रो देश र समाज निर्धारण हुने हो तर यदि उनीहरुकै मन कमजोर छ, बाहिर गएर कुरा गर्न डराउँछ भने उसले त्यो नेतृत्व समाजमा कसरी स्थापित गर्छ ?

पीडा, घृणा, प्रेम र आतुरी सबै कुराहरुको अनुभव गर्न पाएन भने भावनाबाट टाढिँदै जानुको एउटै मात्र शत्रु भनेको प्रविधि हुनेछ । त्यही भएर प्रविधिको सहि सदुपयोग गर्नुपर्छ भन्ने पक्षमा छु । तर, पनि धेरैभन्दा धेरै समय प्रयोग गर्नुपर्छ भन्ने पक्षमा भने छैन । तर, त्यो भन्दैगर्दा हाम्रो प्रविधिका प्रयोगबाट अर्बौँ रेमिट्यान्स आइरहेको छ । म उहाँहरुलाई पनि के भन्न चाहन्छु भने तपाईहरुले बाँकी समय सकेसम्म बाहिर समाजमा बसेर बिताउन अनुरोध छ ।

जब जब मलाई खुसी दिने कुरा अगाडि हुन्छ, म अरु कुनैपनि विषयमा ध्यान दिन सक्दिन । मेरो घरमा सबैभन्दा खुसी हुने कुरा मोबाइल भयो । पहिला चंगा उडाउने, गुच्चा खेल्ने थियो । अहिले त्यो सबै परिवर्तन भयो । अहिलेको बच्चालाई त्यस्तो कुनै पनि कुराको चासो छैन । किनभने हामीले त्यस बारेमा कहिलै कुरा नै गरेका छैनौँ । कतिपय बच्चाहरुले यस्तो कुराहरु नदेखेको पनि हुनसक्छ ।

रक्सी, गाजा, चुरोटहरु पनि लत हो । यसले ब्रेनमा हानी गर्छ । मोबाइल चलाउन दियो भने बच्चाहरु आनन्द मान्छन र खुसी हुन्छन् । यो मोबाइलको लत हो । रक्सीको लत भएको मान्छेले खाएन भने हातहरु काप्ने, डर लाग्ने हुन्छ । यसमा पनि त्यस्तै हुन्छ बच्चालाई मोबाइल नदिने हो भने उनीहरु पनि झगडालु हुन्छन् र अभिभावकहरुसँग टाढा हुँदै जान्छन् ।

अभिभावकहरु बिहानदेखि बच्चालाई कसरी राम्रो बनाउने भनेर सोचिरहेका हुन्छन् । तर, बच्चाको यस्तो व्यवहारले गर्दा अभिभावकहरु पनि प्रभावित हुँदै जान्छन् । सबै कुराको सुविधा दिँदा पनि बच्चाहरु स्वतन्त्र भइन भनेर अभिभावकहरुबाट टाढा जान खोज्छन् ।

यो सबैको कारण भनेको मिडिया हो । मोबाइलमा वा मिडियामा जे देख्छन् उनीहरुलाई त्यही चाहन्छन् । मिडियामा नकारात्मक कुराहरु देखाएको छ भने उनीहरुले त्यही हेरिरहेका हुन्छन् । एउटै कुरा धेरै पटक हेर्ने हो भने असत्य पनि सत्य हुन्छ । जे देख्यो त्यो सत्य हो भन्ने सोचेर यो देशमा केही हुँदैन भनेर अनि विदेश जाने सोच आउँछ । यही कारणले पनि हामीले क्षमतावान युवाहरुलाई गुमाइरहेका छौं । यसको कारण हामी नै बनिरहेका छौँ ।

इन्टरनेटको प्रयोगबाट मानसिक अवस्था खराब भएर आएका मानिसको उपचार प्रक्रिया भने कस्तो हुन्छ ?
इन्टरनेटको लतसँग धेरै कुराहरु जोडिएर आउँछ । जस्तै रिस, अनिन्द्रा, पढाइ विग्रिने, डिप्रेशनमा जाने यस्तै धेरै कुराहरु जोडिएको हुन्छ । यसमा एउटै प्रकारको उपचार हुँदैन । सामान्य मात्र भयो भने सम्झाएर पठाउने हो । मोबाइल के हो, यसका फाइदा, बेफाइदाको बारेमा सम्झाउने हो । परिवारका सदस्यहरुसँग बच्चालाई कसरी सेटअप गर्ने त्यो भने सम्झाउनुपर्छ ।

अभिभावकलाई भन्दा बढी कुरा बच्चाहरुले मोबाइलबाट थाहा पाउँछन् । उनीहरुले अभिभावकहरुलाई तबसम्म मान्छन जबसम्म उसलाई लाग्छ कि मेरो अभिभावकहरुले भनेका निर्णयहरु र ज्ञानहरु मेरा लागि योग्य र महत्वपूर्ण छन् । जुन दिन बच्चालाई मेरो अभिभावकहरुलाई केही पनि आउँदैन भन्ने भ्रम पैदा हुन्छ, त्यही दिनदेखि बच्चाले बा आमाले भनेको मान्दैन । अभिभावकहरुले बच्चाको तहमा प्रविधिको प्रयोग गर्न सक्दैनन्, यसलाई कसरी सन्तुलन गर्ने यो सहज स्थिति होइन ।

तपाईं डाक्टरसँगै अभिभावकका रुपमा पनि हुनुहुन्छ । तपाईंले आफ्नो बच्चाहरुलाई प्रविधिको प्रयोग र समाजमा घुलमिल हुने कुरालाई कसरी सन्तुलन गर्नुभएको छ ?
मैले दिनमा एक घन्टा मोबाइल चलाउने भनेर समय तोकेको थिएँ । त्यो पनि रोकेर । अहिले बच्चाले आइतबारदेखि बिहीबारसम्म मोबाइल चलाउन पाउँदैन । शुक्रबार र शनिबार पनि समय छुट्टाइ दिएको छु । कमसेकम दुई घन्टा उसले आफूले मन परेको विषयवस्तु हाम्रो निगरानीमा हेर्न पाउँछ । १२–१३ वर्षसम्मको बच्चाको लागि समय तोकेर मोबाइल चलाउन दिन सकिन्छ ।

कुनैपनि अभिभावकले आफ्नो बच्चाहरुले के हेरिरहेको छ । त्यसको निगरानी नै नगरी, बच्चाहरुलाई भुलाउनको लागि फोन दिने प्रवृत्ति छ । त्यस्तो अभिभावकलाई के सुझाव दिनहुन्छ ?
हतियार दिनुभयो तर त्यसको प्रयोग कसरी गर्ने भनेर भन्नुभएन भने त्यसले काट्छ । बच्चालाई त्यसले प्रभाव पार्छ नै । तर, त्यो हतियार नदिनको लागि तपाईं आफैँ मेहनति हुनुपर्छ । समस्या बच्चाहरुको होइन, अभिभावकहरुको पनि हो । जसले बच्चाहरुलाई होमवर्क गर भन्ने अनि आफू दुईघन्टा बसेर टिभी हेर्ने वा मोबाइल हेर्ने, बच्चाहरुले हेरेर पनि धेरै विषयहरु सिक्ने गर्छ । बच्चालाई सहि दिशामा लानु छ भने उनीहरुसँग खेल्नुपर्छ, पढ्नुपर्छ । दिनभरि घरमा बसेपनि बच्चासँग समय बिताउँदैन भने उनीहरु राम्रो अभिभावकहरु होइनन् । कमसेकम एक दिन भएपनि आफ्नो बच्चाहरुसँग समय बिताउनुपर्छ ।-नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...