एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउछन्, यो नबुझेर हो : डा.सन्तोष ढकाल [भिडिओ]

30

डा.सन्तोष ढकाल मणिपाल अस्पताल पोखरामा कार्यरत हुनुहुन्छ । अस्पतालमा एनेस्थेसियोलोजिष्टका रुपमा १३ वर्षदेखि कार्यरत डा.ढकालको भूमिका तुलनात्मक रुपमा अलिक भिन्न छ । अपरेसन गर्नुपर्ने बिरामीलाई असहज÷दुखाई महसुस नहोस् र सँगै डाक्टरलाई पनि शल्यक्रियाका लागि उचित वातावरण मिलोस् भन्न हेतु प्रारम्भमा बेहोस बनाउनेदेखि अपरेसनपछि पनि नियमित रेखदेखको भूमिका एनेस्थेसियोलोजिष्टको हुन्छ । यसै सिलसिलामा डा.ढकालसँग नेपाल न्यूज बैंकले संक्षिप्त कुराकानी गरेको छ ।

एनेस्थेसिया सेवाको स्वास्थ्य विधामा के कस्तो भूमिका हुन्छ ?
आम नेपालीले बुझ्ने भाषामा भन्नुपर्दा अपरेसनमा दुई खाले डाक्टर सक्रिय हुन्छन् । एउटा अपरेसन गर्ने डाक्टर हुन्छ । अर्को बिरामीको सबै भाइटल्सहरु प्रेसरदेखि न्युट्रिसन के कस्तो छ ? कति आवश्यक पर्छ ? भनेर हेर्ने डाक्टर अथवा अपरेसनको दौरानभरि आइपर्ने हरेक समस्याको हल खोज्ने डाक्टर, जसलाई हामी एनेस्थेसियोलोजिष्ट भन्छौँ । कतिपय बिरामीहरुले चाहिँ बेहोस गर्ने डाक्टर भनेर पनि बुझेको पाइन्छ ।

एनेस्थेसियोलोजिष्टको काम चाहिँ खाली अपरेसन गर्ने बेला मात्रै हो कि अघिपछि पनि जिम्मेवारी हुन्छ ?
एनेस्थेसियोलोजिष्टको जिम्मेवारी भनेकै अपरेसन अगाडि र पछाडिसम्म बिरामीलाई हेर्नु हो । बिरामीलाई अपरेसन गर्न मिल्छ कि मिल्दैन ? भन्ने एनेस्टेसियोलोजिष्टले निर्णय गर्ने हो । त्यसकारण यो एकदमै महत्वपूर्ण जिम्मेवारी पनि हो । अपरेसन भइरहेको बेला वा भइसकेपछि कुनै समस्या जस्तै दुखाई हुनसक्छ । कसैले उल्टी गर्ने, घाँटी दुख्ने या अन्य कुनै पनि समस्याहरुलाई समाधान गर्ने हाम्रो जिम्मेवारी हुन्छ ।

अपरेसन गर्नुपूर्व चेकजाँच गर्ने कुरा कत्तिको महत्वपूर्ण हुन्छ ?
यसलाई प्रि–एनेस्थेसिया चेकजाँच भनिन्छ । यसलाई हामीले छोटकरीमा पिएसी पनि भन्छौँ । यो अपरेसन गर्नुभन्दा अगाडि गर्नु एकदमै जरुरी हुन्छ । हामीले कुनै एउटा मिति समय तोकेर एक हप्ता एक महिनापछि गरिने अपरेसनअघि बिरामीमा अरु कुनै समस्या छ कि छैन ? पहिला कुनै समस्या भएको थियो कि सबै इतिहास हेर्नेदेखि लिएर राम्रो जाँच गरेर मात्र अपरेसनमा अघि बढ्नुपर्ने हुन्छ । यसलाई भन्छ इलेक्टिभ अपरेसन । हामीले चुरोट, रक्सी खाएर आउनुभएको छ भने यति समयसम्म यो औषधि खानुपर्ने अथवा उहाँहरुलाई मनोचिकित्सकलाई देखाउनुपर्ने हो कि मुटुको डाक्टरलाई देखाउनुपर्ने हो कि सबै निर्णय लिन पनि हामीले प्रि एनेस्थेसिस्ट चेकजाँच गर्नुपर्छ । अर्को भनेको अपरेशनको प्लान हो । अपरेसन गर्ने सर्जनले यसरी अपरेसन गर्छौँ भनेर योजना बनाएको हुन्छ । तर, एनेस्थेसिष्टको के हुन्छ भने बेहोस कसरी गर्ने, ढाँडमा सुई लगाएर गर्ने कि पूरै बेहोस गर्ने कि अथवा शरीरको कुनै एउटा भाग मात्र लाटो बनाउनुपर्ने हो कि यो बारेमा र बिरामीलाई भेन्टिलेटर चाहिन्छ कि चाहिँदैन । पूर्वतयारी आइसियूको तयारी यो सबै हेर्नको लागि प्रि–एनेसथेसिया एकदमै महत्वपूर्ण हुन्छ ।

यो विभागले खाली अपरेसनसँग सम्बन्धित कुराहरु मात्र हेर्छ कि त्योभन्दा बाहेक ओपिडीमा पनि भूमिका रहन्छ ?
एनेस्थेसियोलोजिष्ट अथवा हाम्रो विभाग चाहिँ हामो विशेषज्ञता भनेकै भेन्टिलेटरमा राख्नुपर्‍यो भने आवयश्क पर्ने हो । कहिलेकाही वार्डहरुमा समस्या आउँछ । बच्चाहरु हुन्छन् । नसा खोल्न सकिरहेको हुँदैन । त्यो बेलामा हामीले सहयोग पुर्‍याउने हो । आइसियूमा केही समस्या आयो र बिरामीको मुटुको चाल घट्न थाल्यो भने पनि एनेस्थेसियोलोजिष्टको खाँचो पर्‍यो । तर, समस्या के छ भने काठमाडौँभन्दा बाहिर सबै ठाउँमा आइसियूको डाक्टर हुनुहुन्नँ, त्यो बेला हाम्रो प्रमुख भूमिका रहन्छ ।

एनेस्थेसिया गर्दा आउने समस्या कस्ता हुन्छन् ?
समस्या नआउने भन्ने त हुँदैन । मेरै अनुभवको कुरा गर्दा समस्या नआएको त सायद दिन नै हुँदैन । हरेक दिन चुनौतीपूर्ण हुन्छ । हरेक बिरामी हरेक केस नै एउटा फिल्मी हुन्छ, तीन घण्टाको फिल्म हेरेको जस्तै हुन्छ । चुनौती हुन्छ, त्यसमा तर त्यो चुनौतीसँग डराएर भाग्न पनि मिल्दैन । हार खाएँ भन्न मिल्दैन । म १३ वर्षदेखि यही काम गरिरहेको छु । अनुभव बटुलेको छु, तर समस्या नहुने, सबै थाहा हुने भन्ने हुँदैन । कतिपय कुरा पहिलो पटक प्रयोग गर्ने पनि हुन्छ । यसको मतलब फेरि एनेस्थेसिया गर्नु असुरक्षित हुने भन्ने होइन । सबै कुरा सन्तुलनमा राखेर गरिएको हुन्छ । बिरामीले डराउनु आवश्यक छैन ।

बिरामीहरुले चाहिँ डाक्टरहरु उपचार गर्ने क्रममा निर्दयी हुन्छन् भन्ने अनुभव सुनाएको पाइन्छ । तपाईंलाई कस्तो लाग्छ ?
कोही पनि मान्छे निर्दयी हुने भन्ने कुरा नै हुँदैन । तर, समय परिस्थिति र अवस्थाले मान्छेलाई आवश्यकताअनुसार प्रस्तुत हुनुपर्ने हुन पनि सक्छ । म त त्यसको उल्टो छु, म जस्तो बिरामी छ त्यही अनुसार बोल्छु । बच्चा हो भने बच्चाकै अनुसार, ठुलो हुनुहुन्छ भने त्यही अनुसार बोल्छु । एउटा सम्बन्ध बाँधेर उपचार गर्ने हो भने पक्कै काममा मिठास हुन्छ ।

एउटा वयस्क व्यक्तिलाई एनेस्थेसिया दिनु र बच्चाहरुलाई दिनुमा केही फरक हुन्छ ?
उमेरले, उसको शरीरले अवश्य फरक पार्छ । वयस्कहरुभन्दा बच्चाहरुलाई एनेस्थेसिया प्रयोग गर्नु एकदमै चुनौतीपूर्ण हुन्छ । बच्चा भन्नेबितिकै नाजुक हुन्छ, उसको परिवारहरु रोइरहेका हुन्छन् । त्यो देखेर बच्चाहरुलाई झन् डर हुन्छ, उसलाई कसरी अपरेसन टेबलसम्म लाने भन्ने कुरा नै चुनौतीको विषय हो । वयस्कहरुको हकमा त्यो सजिलो हुन्छ । बच्चाहरुलाई सम्हाल्न पनि गारो नै हुन्छ ।

एक पटक एनेस्थेसिया प्रयोग गरिसकेपछि त्यसले दीर्घकालीनरुपमा असर गर्ने सम्भावना कति हुन्छ ?
यसमा धेरै अनुसन्धानहरु भएका छन् । एनेस्थेसिया दिएपछि मान्छेलाई कुनै असर पार्‍यो कि भन्ने चासो हामीलाई पनि हुन्छ । तर, ठ्याक्कै यस्तो असर भनेर खुलेको छैन । तैपनि व्यक्तिको निर्णय क्षमतामा त्यसले असर पुर्‍याएको कुरा चाहिँ आउने गर्छ । अर्को चाहिँ स्मरण शक्ति पनि कम हुँदै जाने गरेको पनि सुनिन्छ । तर अहिले त्यस्तो जोखिमहरु कम छ । किनभने अहिले कुनै पनि औषधि प्रयोग गरिसकेपछि त्यसले आधा घण्टा, ४५ मिनेटसम्म मात्रै असर पुर्‍याउने गरेको हुन्छ ।

एनेस्थेसियाको विषयमा अरु केही भन्न चाहानुहुन्छ ?
एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराएको पाइन्छ । जुन आवश्यक छैन । यसमा जनचेतनाको अझै पनि आवश्यकता छ । कति जनालाई थाहा पनि हुँदैन । अपरेसन गर्ने बेला डाक्टर बेहोस बनाउने भन्यो भने आत्तिने, डराउने गरेको पाइन्छ । आफन्तहरु पनि डराएको पाइन्छ । त्यसकारण यसकोबारेमा जनचेतना नै आवश्यक छ । हामीले कतिपय प्राविधिक कुराहरुमा सामान्य जानकारीमात्रै भएपनि राखिराख्नुपर्छ ।

Share This:
सम्बन्धित खबर
Loading...