काठमाडौँ, २१ वैशाख । कोरोना (कोभिड–१९) महामारीपछि पर्यटकको नेपाल आगमन दरमा सुधार देखिएको छ । नेपाल आउने पर्यटकको संख्या विस्तारै पुरानै लयमा फर्किन थालेको छ ।
सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्ष अप्रिलमा ९८ हजार ७७३ थियो । नेपालले आधार वर्ष मान्ने गरेको सन् २०१९ मा १ लाख ९ हजार पर्यटक आएका थिए । संख्यात्मक हिसाबले गत सालको अप्रिलभन्दा यो वर्ष १२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
सन् २०२४ को मार्चमा एक लाख २८ हजार भित्रिएका थिए । जुन अहिलेसम्म मार्चमा आएको सबैभन्दा ठुलो संख्या हो । अप्रिलमा सबैभन्दा धेरै पर्यटक आउने १० देशहरुमा क्रमशः भारत अमेरिका, चीन, बेलायत, अष्टे«लिया, बंगलादेश, फ्रान्स, जर्मनी, रसिया र मलेसिया छन् ।
अप्रिलमा छिमेकी देश भारतबाट ३० हजार १५८ पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ९ हजार ९४७ जना पर्यटक आएका छन् । गत महिना अमेरिका तेस्रो स्थान थियो । गत महिना दोस्रो स्थानमा रहेको चीन यो पटक तेस्रो स्थानमा छ । चीनबाट ९ हजार ७५० जनाले नेपाल भ्रमण गरेका छन् ।
चौथो स्थानमा रहेको बेलायतबाट ५ हजार ३९१ पर्यटक आएका छन् पाँचौँ स्थानमा रहेको अष्टे«लियाबाट ४ हजार ११० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यस्तै, बंगलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७५५, जर्मनीबाट ३ हजार २७०, रसियाबाट २ हजार ९७७ र दशौं नम्बरमा रहेको मलेसियाबाट २ हजार ३ सय १० जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो ।
पर्यटन बोर्डले गर्ने क्षेत्रगत विभाजनका आधारमा सार्क क्षेत्रबाट ३२ प्रतिशत, सार्कबाहेक एसियाका अन्य क्षेत्रबाट १८ प्रतिशत, युरोपबाट २२ प्रतिशत, ओशियनाक्षेत्रबाट ४.२ प्रतिशत, अमेरिकाबाट १०.४ प्रतिशत, मध्यपूर्वबाट १०.३ प्रतिशत, र अन्यक्षेत्रबाट १०.३ प्रतिशत पर्यटक नेपाल आएका छन् ।
सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेर २०२३ मा १० लाख पुर्याउने लक्ष्य लिएको थियो । सन् २०२३ मा १० लाख एक हजार ८४४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । निर्देशक लामिछानेका अनुसार विस्तारै पर्यटक आगमन लयमा फर्किन थालेको छ ।