ढुंगा–गिटी राम्रो आयस्रोत हो तर गृहमन्त्रीले रोकिदिए : नगरप्रमुख मर्हजन

17

काठमाडौँ, ११ वैशाख । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सरकारले ढुंगा, गिटी उत्खननको मापदण्ड छिटोभन्दा छिटो बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल न्युज बैंकसँगको कुराकानीमा महर्जनले आफ्नो नगरभित्रका खानीहरुबाट ढुंगा, गिटी, बालुवाजस्ता प्राकृतिक स्रोतको उत्खनन् गर्न स्थानीय सरकारलाई संघको मापदण्डले रोकेको बताउनुभयो । उहाँले गोदावरी नगरपालिकाभित्र ढुंगा खानीको विषयमा गलत प्रचार प्रसार भएको पनि जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो आन्तरिक आयको मुख्य स्रोत ढुंगा–गिटी नै हो । भएको स्रोतलाई परिचालन गर्नैपर्छ । तर त्यसको व्यवस्थापन र मापद्दण्डलाई कायम गर्न सक्नुपर्छ ।’

नगर प्रमुख महर्जनले आन्तरिक आय बढाउने स्रोत नै ढुंगा, गिटी र बालुवा उत्खनन् भइरहेकाले त्यसको सहजीकरणका लागि संघीय सरकारले कानुनी रुपमा खुला गरिदिन गृहमन्त्रीसँग अनुरोध गर्नुभयो ।

‘गोदावरी नगरपालिकाको विषयमा गलत प्रचार प्रसार भएको छ । त्यसमा मेरो आपत्ति छ । हामीकहाँ चारवटा ढुंगा खानी छन् । मिडियाले ४० वटाजति छन् भन्ने व्याख्या गरिदिन्छन् । क्रसरहरु आठदश वटा छन् । गृहमन्त्रीलाई म अनुरोध गर्न चाहन्छु, देशभरि मापदण्डको समस्या छ, उहाँले बनाइदिनु पर्‍यो ।’

उहाँले थप्नुभयो, ‘पहिलो पटक गृहमन्त्री हुँदा उहाँले रोक्नुभएको थियो । के कारणले बन्द भयो ? के कारणले खुल्यो थाहा भएन । तर, दोस्रो पटक गृहमन्त्री भएर आउँदा संघीय सरकारले व्यवस्थापन, मापदण्ड र नीति बनाउने भएकाले यसलाई छिटो भन्दा छिटो मापद्दण्ड कायम गरिदिनुपर्‍यो। ’

गोदावरी नगरपालिका–७ देवीचौरमा राष्ट्रिय वन नै मासेर अवैध रुपमा खानी सञ्चालन हुँदै आएको छ । राष्ट्रिय वन अन्र्तगत पर्ने ३९४ रोपनी वन क्षेत्रमा अवैध रुपमा खानी सञ्चालन भैरहेको हो । त्यसको स्थानीय र सञ्चारमाध्यमले खबरदारी गरिरहँदा पनि मौन जस्तो बसेको स्थानीय सरकार उल्टै मापदण्ड र नीति बनाएर खानी सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ ।

स्थानीय पूर्वजनप्रतिनिधिहरु नै गोदावरीको विभिन्न स्थानमा रहेको क्रसर तथा खानी सञ्चालनमा संलग्न रहेको, राष्ट्रिय वन नै मासेर अवैध उत्खनन् भइरहँदा पनि सरोकारवाला निकाय कारबाही गर्नेबारे मौन छ ।

एक फरक प्रश्नमा नगरप्रमुख महर्जनले पूर्वाधार विकासको क्षेत्रमा नगरपालिकाले उत्कृष्ट काम गरेको दाबी गर्नुभयो । पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेर सडक, बाटो निर्माण गरेको बताएका उनले खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत आमुल परिवर्तन गरेको उल्लेख गर्नुभयो ।

‘जबसम्म पूर्वाधार राम्रो हुँदैन तबसम्म नगरको स्वरुपमा परिवर्तन हुन सक्दैन भनेर पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेर हामीले विशेष बजेट छुट्यायौँ । त्यही अनुसार पालिकाले नाका छिर्ने हरेक बाटो, सडक कालोपत्रे गरेको छ । चापागाउँ, थेचो, टीकाभैरव, गोदावरी–बाँणेगाउँको बाटो हामीले नै पहलकदमी लिएर निर्माण गर्यौं, अधिकांश क्षेत्रमा बाटो राम्रो भएको छ,’ महर्जनले भन्नुभयो ।

उहाँले आफ्नो पहिलो कार्यकालमा भौतिक पूर्वाधारको विकास र दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य र खानेपानीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

उहाँले नगरको विभिन्न वडाहरुमा खानेपानीको हाहाकारको अवस्थालाई सुधार गरेर ५,६ र ८ नम्बर वडामा समेत खानेपानीको ठूला परियोजना सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । गोदावरी नगरपालिकालाई आगामी ५० वर्षसम्म खानेपानीको उपलब्धता गराउन सक्नगरी दीर्घकालीन योजन बनाएर काम गर्न लागेको जनाउनुभयो ।

नगरको मूख्य सडक सातदोबाटो–गोदावरी, सातदोबाटो–चापागाउँ सडकलाई अझै पूर्णता दिन किन नसकेको भन्ने प्रश्नमा महर्जनले भन्नुभयो,‘ विगतमा ति सडकमा हिलो र धुलो नै थियो । अहिले हिलो र धुलोलाई हटाएर कहीँ ढलान कहीँ कालोपत्रे हामीले नै गरेका हौँ । मैले आफ्नो दुई कार्यकालमा चाहेर पनि स्थानीय तहमा जिम्मेवारीमा नपरेका कारण यस्ता केही काम गर्न सकिन । क्षतिपूर्ति र मुआब्जा संघीय सरकारले नदिएसम्म बाटो विस्तारको कार्यलाई अगाडि बढाउनसक्ने अवस्था छैन । संघीय सरकारले जबसम्म प्राथमिकता दिँदैन तबसम्म बाटो विस्तार हुँदैन ।’

Share This:
सम्बन्धित खबर
Loading...