नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट मुक्त गराउछौँ : पर्यटनमन्त्री तामाङ

15

काठमाडौँ, ९ वैशाख । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले इयूको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई मुक्त गराउन आफूले छलफल गरिरहेको बताउनुभएको छ ।

‘नेपालको विमानलाई सिधैँ इयूमा प्रवेश गराउने गरी कार्ययोजना बनाउनुपर्छ भनेर सन्देश दिने हिसाबले मैले मन्त्रालयमा आउँदा बोलेको थिए । त्यसमा म अडिग छु । निजी क्षेत्रसँग सल्लाह सुझाव लिएका छौँ । विज्ञहरुसँग पनि कुराकानी गरि सम्बन्धीत र सम्बद्ध सस्थाका पदाधिकारीसँग पनि कुराकानी गर्छौँ,’ उहाँले भन्नुभयो ।

उहाँले इयूको कालोसूचीबाट नेपाली हवाई क्षेत्रलाई खुला गर्न नसके त्यसले सामरिक, आर्थिक र अन्य हिसाबले नकारात्मक असर पार्ने धारणा राख्नुभयो ।

मन्त्री तामाङले मन्त्रालयमा विभिन्न व्यक्तिहरु भेटघाटको नाममा बजेटका लागि धाउने गरेकाले आर्थिक वर्ष ०८१।८२ को बजेट निर्माणमा त्यसले प्रभाव पारेको पनि बताउनुभयो ।

उहाँले बजेट निर्माणको पूर्वसन्ध्यामा सत्ता समीकरण फेरिएपछि प्रधानमन्त्री र केही मन्त्रीबाहेक अधिकांशजसो नयाँ मन्त्रीहरु आएकाले सिंहदरबारमा मन्त्रीसँग योजना लिएर बजेट माग्न आउनेको भीड लागेको बताउनुभयो ।

मन्त्री तामाङले मन्त्रालयको कार्यक्षेत्र धेरैतिर फैलिएको (भेग) भएको उल्लेख गर्दै विभिन्न विभागहरुसँग बजेट निर्माणबारे प्रत्यक्ष अप्रत्यक्ष रुपमा नीतिगत र आवश्यक छलफल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो चरणमा प्रधानमन्त्री र केही मन्त्रीहरुबाहेक अरु सबै मन्त्रीहरु परिवर्तन भएको र तिनलाई भेटघाट गर्ने एवम् बधाई दिने हिसाबले सिंहदरबारमा भिडभाड अलि बढ्यो । त्यही बीचमा बजेट माग गर्नेहरुको पनि भिडभाड बढिराखेको थियो । यी दुवै कारणले गर्दा भिडभाडमै हराउने खालको व्यस्तता बन्यो । जसका कारण योजना निर्माणको कुरालाई त्यसले प्रभाव पारेको छ ।’

मन्त्री तामाङले जेठ १६ गते प्रधानमन्त्रीलाई नै सगरमाथाको आधार शिविरमा पुर्‍याएर सगरमाथा दिवस मनाउने तयारी मन्त्रालयले गरिरहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...