काठमाडौँ, १४ चैत । फिफा विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा नेपाल बहराइनसँग पराजित भएको छ । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल ‘होम’ एन्ड ‘अवे’ बहराइनमै खेलेको थियो ।
पहिलो खेलमा ५–० को पराजय भोगेको नेपालले बुधबार बिहान सकिएको दोस्रो खेलमा ३–० गोल अन्तरले पराजित भएको छ । बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक/एक गोल गरेका थिए ।
बहराइनले पहिलो हाफमै गरेको ३ गोल नै निर्णायक बन्यो । खेलको सातौँ मिनेटमा सैयद बाकरले गोल गरेपछि बहराइनले खेलमा १–० को अग्रता बनायो । १८औँ मिनेटमा बहराइनका लागि अब्दुल्ला युसुफले पेनाल्टीमार्फत गोल गर्दै खेलमा २–० को अग्रता दिलाए । ३६औँ मिनेटमा कामिल अलले गोल गर्दै बहराइनलाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाएका थिए ।
७३औँ मिनेटमा नेपालले गोल गरे पनि उक्त गोलले मान्यता पाएन । सनिश श्रेष्ठको क्रसमा सन्जिव विष्टले डी बक्बाट वान टच गोल गरेका थिए । तर, सहयाक रेफ्रीले अफसाइडको झण्डा उठाएपछि मान्यता पाएन ।
बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समूह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, नेपाल भने चार खेलमा सबै खेलमा हार बेहोरेर अंकविहीन हुँदै पुछारमा रहेको छ । यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
अब नेपालले विश्वकप छनोटअन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ ।