आचार्यको सुर यात्रा, ‘संगीतकार सधैँ छायामा छन्’

73

काठमाडौँ, १० चैत । दाङका गायक र संगीतकार गोविन्द मधुर आचार्यले सांगीतिक यात्रा २०५९ सालमा थाल्नुभएको हो । संगीत क्षेत्रमा लाग्नुभएका उहाँले दोहोरीदेखि चलचित्रमा आधुनिक गीतसम्म धेरै थरी गाउनुभएको छ । सांगीतिक क्षेत्रमा लागेको लामो समयसम्म उहाँले चर्चा भने पाउन सक्नुभएको थिएन ।

तर, जब ‘म मरेको छैन’ रिलिज भयो, त्यसपछि भने उहाँलाई गायनदेखि संगीतसम्म अफर बढ्यो । उहाँले संगीतकारका रुपमा अपेक्षित चर्चा कमाउन नसकेपछि उहाँले गायनको क्षेत्रमा कदम राख्नुभएको हो । उहाँले आफ्नै लगानीमा उक्त गीत निकाल्नुभएको हो ।

उहाँले यो गीत आफ्नै युट्युब च्यानलमार्फत् रिलिज गर्नुभएको थियो तर चर्चा कमाउन सक्नुभएको थिएन । टिकटकबाट जब यो गीतले चर्चा कमायो त्यसपछि मात्रै गोविन्द चर्चामा आउनुभएको हो । अहिले उहाँले स्थापित गायकको परिचय बनाउनुभएको छ ।

‘मैले संगीतकारको रुपमा धेरै काम गर्दा पनि चर्चामा नआएपछि गायनको क्षेत्रमा कदम राखेको थिएँ,’ उहाँ भन्नुहुन्छ, ‘आफ्नै लगानीमा लगातार ५ वटा गीत पनि निकाले । आफ्नै लगानीको छैटौँ गीत ‘म मरेको छैन’ चाहिँ राम्रो चल्यो, त्यसकारण गायन क्षेत्रमा एकदम राम्रो भएको जस्तो महसुस भएको छ ।’

‘कान्छीको रुमाल खस्यो पानीमा’ लोकपपबाट गायनयात्रा सुरु गर्नुभएका गोविन्दको स्वरमा १२५ भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गोविन्दको स्वर, शब्द र संगीतका गीतको सूची ६ सयभन्दा बढी पुगेको छ ।सानै उमेरदेखि संगीतमा लगाव भएका उहाँको परिवारमा पनि सबै यस क्षेत्रमा लागेकाले प्रेरणा मिलेको हो ।

उहाँले भन्नुभयो, ‘म सानैदेखि नै संगीतमा धेरै नै रुचि थियो र यसमा मेरो परिवारको पनि धेरै साथ र सहयोग छ । मेरो परिवारमा प्राय सबै जना गाउने नै हुनुहुन्थ्यो । मेरो लगाव पनि धेरै त्यतै तिर भयो, पेसागत रुपमा गीतलाई मैले नै औपचारिक रुपमा अगाडि बढाउने अवसर पाए ।’

उहाँलाई लाग्छ नेपालमा संगीतकारहरु छायामा मात्रै होइन, अन्धकारमा नै छन् । उहाँले भन्नुभयो, ‘मैले हिजोको दिनमा संगीतकारको रुपमा धेरै कामहरु गरेँ, मैले हरेक प्रकारको गीत गरेको छु । नेपालमा के भइरहेको छ भने गीतहरु सुनेका हुन्छौँ तर त्यसको संगीतकार को हो भनेर चिनेको हुँदैन । संगीतकारहरु छायामा मात्रै होइन, अन्धकारमा नै छन् । त्यसकारण मैले संगीतकारको रुपमा धेरै गीतहरु सिर्जना गरे पनि मैले चिनिने मौका ढिला पाएँ ।’

Share This:
सम्बन्धित खबर
Loading...