काठमाडौँ, ४ चैत । प्रतिनिधि सभा सदस्य मन्जु अन्सारीको आइतबार निधन भएको छ । जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिक सांसद रहनुभएकी उहाँको हृदयघातका कारण काठमाडौँको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो ।
जसपाका तर्फबाट तात्कालीन अवस्थामा समानुपातिक सांसद चुनिएकी सहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछि पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधि सभा सदस्य चुनिनुभएको थियो ।
२०४६ सालमा तत्कालिन नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएका अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
उहाँले २०५६ सालमा सद्भावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्नुभएको थियो ।