एनभिए भलिबल च्याम्पियनिसप : महिलातर्फ एपिएफको विजयी सुरुवात

149

काठमाडौँ, ४ चैत । आठौँ संस्करणको आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विभागीय क्लब एपिएफले महिलातर्फ विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार बिहान भएको पहिलो खेलमा एपिएफले मधेस प्रदेशलाई ३-० को सहज जित निकालेको हो ।

राष्ट्रिय खेलाडी रहेको एपिएफमाथि मधेस प्रदेशले कुनै पनि बेला चुनौती दिन सकेन । एपिएफले पहिलो सेट २५-८ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट २५-७ ले जित्दै आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा एपिएफले एकतर्फी जित निकाल्न सफल भयो । एपिएफले मधेसलाई १ अंकमा छाडेर २४ अंक बनाएको थियो । अन्त्यमा एपिएफले २५-२ को सेटमा जित निकाल्दै पहिलो खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चैत १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ गरी कुल २० टोलीको सहभागिता रहेको छ ।

महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र एभरेष्ट भलिबल क्लब रहँदा समूह बी मा चन्द्रागिरी नगरपालिका, न्यु डायमण्ड भलिबल क्लब, नेपाल एपिएफ क्लब र मधेस प्रदेश रहेका छन् ।

पुरुषतर्फ समूह ए मा टिपटप हेल्प नेपाल कोशी प्रदेश र ढोरपाटन क्लब, समूह बी मा नेपाल एपिएफ क्लब, जावलाखेल भलिबल ट्रेनिङ क्लब र सुदूरपश्चिम प्रदेश, समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब तथा समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुण्ड भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।

प्रतियोगिताको महिला र पुरुष दुवै विजेताले ५ लाख प्राप्त गर्दा उपविजेता हुनेले २ लाख ५० हजार तेस्रो हुने टोलीले १ लाख २५ हजारमा चित्त बुझाउने छन् ।

यसैगरी, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले ४०-४० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५-१५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...