काठमाडौँ, ३ चैत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित ढुवानी व्यवसायी महासंघ नेपालको छैठौँ महाधिवेशन तथा १५औँ वार्षिक साधारणसभा उदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले ढुवानी व्यवसायको जुन प्रकृति हेर्दा छुट्टै ऐनको आवश्यक छ कि भन्ने महसुस भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘मलाई यस क्षेत्रमा गहिरो ज्ञान त छैन । मलाई भन्दा यस क्षेत्रको ज्ञान तपाईंहरुलाई हजार गुणा बढी छ । मैले बाहिरबाट देखेजस्तो नहुन सक्छ । तर, मलाई के लाग्दैछ भने ढुवानी व्यवसायको जुन प्रकृति छ । यसलाई हेर्दा ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यक छ कि भन्ने महसुस हुँदैछ । त्यसको लागि तपाईंहरु मस्यौदा गर्नुहोस् । मलाई लेखेरै दिनुहोस् मलाई सघाउनुहोस् । ’
मन्त्री गिरीले ढुवानी व्यवसायले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको बताए । सानो आकारमा पुँजीबाट काम गर्नेलाई महत्वको साथ नलिने र सधैँभरि उपेक्षा गर्ने प्रवृत्तिले गर्दा व्यवसायीहरु अप्ठ्यारोमा परेको उहाँको भनाइ छ । उहाँले आफुले जिम्मेवार ढङ्ले ढुवानी व्यवसायको क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।