डा.विष्णुमायालाई बद्री पहाडी समाजसेवा पुरस्कार

61

काठमाडौँ, १ चैत । मानव अधिकार तथा शान्ति समाजले अधिकारकर्मी डा.विष्णुमाया परियारलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

प्रत्येक वर्ष प्रदान गरिने १ लाख १० हजार राशीको यो पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सुपरिचित डा.परियारलाई प्रदान गर्ने निर्णय फागुन ३० गते सम्पन्न शान्ति समाजको पुरस्कार छनोट समितिले गरेको हो ।

डा.परियार साढे दुई दशकभन्दा बढी समयदेखि अधिकारको आन्दोलनमा योगदानका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सम्मानित सामाजिक न्यायका लागि क्रियाशील रहँदै आउनुभएको छ ।

सन् १९७३ को डिसेम्बर १९ मा गोरखामा जन्म भएको डा.परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न छ । यसैगरी उहाँको जीवन संघर्षको गाथा विश्व चर्चित एक प्रकाशनगृहद्वारा प्रकाशित पुस्तकमा समेत समावेश छ ।

अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेट अफ नेपाल (एड्वान)का संस्थापक अध्यक्ष डा.परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको हो भने पाइन म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि.लिट (डक्टर अफ लेटर) ले सम्मान गरेको थियो । हाल अमेरिकामा रहनुभएकी डा.परियारका दुई वटा कृति प्रकाशित छन् ।

Share This:
सम्बन्धित खबर
Loading...