काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक काठमाडौँ आइपुग्नुभएको थियो । १८ जना मिटरब्याजपीडित गरिब किसानहरू उहाँको साथ खडा हुनुहुन्थ्यो । त्यसयता उहाँ कहिले माइतीघरको चिसो भुइँमा धर्ना बस्नुहुन्छ, कहिले हजारौँ किलोमिटरसम्म पैदलै हिँडेर न्यायको संघर्ष ।
यसबीचमा सरकारले पटक-पटक उहाँहरूसँग सहमति गरेको छ, आयोग र छानबिन समिति बनाएर काम गरेको छ । तर, उहाँहरूका समस्या भने ज्यूँका त्यूँ छन् । ‘नयाँ गृहमन्त्री यही आएर आश्वासन त दिनुभयो, तर तीन वर्षदेखि न्यायका लागि भौतारिएको सम्झिँदा यसपटक पनि के होला भनेर मनमा डर छ,’ मुसहरले भन्नुभयो, ‘४२ दिनदेखि यत्रो संघर्ष गर्दा पनि सरकारले न्यायको आशामात्रै दियो, अब हामीसँग त न यहाँ बस्दा खानेकुरा छ, न फर्किने पैसा ।’
उहाँले छोरीको विहेका लागि गाउँकै साहुसँग साढे चार लाख रुपैयाँ ऋण लिनुभएको थियो । ऋण लिनेबेला साहुले धितो अनिवार्य भन्दै उनको साढे १० कठ्ठा जग्गा आफ्नी श्रीमतीको नाममा पास गर्न लगाए । पैसाले समस्या परेका बेला रामशुभगले पनि जग्गा दिएरै ऋण लिए । साधारण लेखपढमात्रै जान्ने उहाँले १५ महिनापछि साहुको ऋण ब्याजसहित ९ लाख ४० हजार रुपैयाँ फिर्ता गरिसक्नुभयो ।
‘साढे चार लाख ऋण लिएको, एक वर्ष तीन महिनामा मैले ९ लाख ४० हजार रुपैयाँ तिरेँ,’ उहाँ भन्नुहुन्छ, ‘पैसा बुझ्दा साहुले दुई दिनमा जग्गा फिर्ता गरिदिन्छु भनेका थिए । तर वर्षौँ बित्दा पनि जग्गा नदिएपछि म न्याय खोज्दै भौतारिनुपर्ने अवस्थामा पुगेँ ।’
जग्गा फिर्ता गराइदिन बेलिविस्तार लगाउँदै उहाँ मानव अधिकार आयोग पुग्नुभयो, स्थानीय सरकारसमक्ष धाउनुभयो, प्रदेश सरकारसमक्ष पनि पुग्नुभयो । तर, कतैबाट न्याय नपाएपछि उहाँले सडक संघर्ष रोज्न बाध्य हुनुभयो । ‘उमेरले आराम गर्ने बेला भएको छ । तर, जीवनभरको जायजेथो साहुले हडपिदिएपछि बाध्य भएर यो कष्ट बेहोर्दै छु,’ उहाँले भन्नुभयो ।
सरकारले पटक-पटक सहमति गरेर आन्दोलन टुंग्याएपनि व्यवहारिकरुपमा भने पीडितहरूको पीडालाई कसैले नबुझेको उहाँको गुनासो छ । ‘तीन वर्षदेखि हामी यसैगरी संघर्ष गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘विगतमा पनि गृहमन्त्रीहरूले प्रतिबद्धता जनाए, तर कार्यान्वयन भएन । अहिले नयाँ गृहमन्त्री हुनुहुन्छ, उहाँले समाधान गर्छु भन्नुभएको छ । हामीलाई आशा जागेको छ, तर भर पर्ने अवस्था छैन । किनभने यसैगरी हामीले आन्दोलन थालेको साढे तीन वर्ष भइसकेको छ ।’
रामशुभगजस्तै पटक-पटक आन्दोलनमा काठमाडौँ आइसकेकी छिन्, प्रतापपुर गाउँपालिका-४ की तिलसरादेवी राजभर । उहाँले विदेश जाने बेला गाउँकै साहु जगदिश बानियाँबाट एक लाख रुपैयाँ लिनुभएको थियो । साउदी पुगेर मजदुरी गरेकी उहाँले आठ महिनामै साहुको एक लाख रुपैयाँ फिर्ता गर्नुभयो । तर, त्यसपछि पनि साहुले छोडेनन् । ‘मैले १२ वर्षसम्म मजदुरी गरेको पैसा साहुले खाइदिए । एक लाख रुपैयाँ ऋण लिएको १० लाख रुपैयाँ लिएर फिर्ता गरेनन्,’ उहाँले भन्नुभयो । साहुले हडेपेको त्यही पैसा फिर्ता पाउनुपर्ने भन्दै उहाँ तेश्रोपटक काठमाडौँ आइपुग्नुभएको हो ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिको संयोजनमा यसपटक भएको आन्दोलनमा पूर्वदेशि पश्चिमसम्मका करिब ४ हजार मजदुर किसान सहभागी भए । अहिले पनि सयौँको संख्यामा पीडितहरू काठमाडौँमै छन् ।
संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले ४औँ दिनमा सरकारसँग चार बुँदे सहमति भएपनि कार्यान्वयन हुने वा नहुने भय कायम रहेको बताउनुभयो । ‘सरकारसँग सहमति भएको छ । तर, हामीले पूर्ण विश्वास गर्ने अवस्था छैन । हामी शंका र आलोचनाको दृष्टिले पनि हेरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण सहमति कार्यान्वयन नभएसम्म घर फर्किने वा यही बसेर दबाब दिइरहने भन्ने टुंगोमा पुगिसकेका छैनौँ ।’
उहाँले आफूहरूसँग घर फर्किनका लागि पैसासमेत नभएको र त्यसबारे समेत सरकारसँग कुरा भइरहेको बताउनुभयो ।