बुढासुब्बा गोल्डकप : आयोजक धरानको विजयी सुरुवात

31

धरान, २७ फागुन । पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण सुरु भएको छ ।

शनिबार भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पाहुना टोली युकेएफसी भारतलाई पराजित गर्दै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो ।

पेनाल्टीमा पनि ५–५ गोलको बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा धरान १०–९ गोल अन्तरले विजयी भएको हो ।

यसअघि निर्धारित समयको ५९औँ मिनेटमा धरानका मिलन राईले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ७३औँ मिनेटमा युकेएफसीका नयन प्रधानले गोल फर्काएका थिए ।

धरान फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब, थ्री स्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब युकेएफसी सहभागी छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नगद १ लाख र प्रत्येक खेलको म्यान अफ द म्यान नगद १० हजार पाउने छन् । उत्कृष्ट गोलरक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...